pr-conf-2016-11-29
हुलाकी न्यूज, काठमाडौं १४ मंसिर ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले अब मधेशी जनता चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनले मंगलबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. राउतले, ‘मधेशी जनताले दिएको शहादत र बलिदानीलाई पुनः कसैले बिक्री गर्दै कुनै पनि पक्षबाट मधेशी जनतालाई धोका दिने प्रयास भयो भने मधेशी जनता अब चुप लागेर बस्ने छैनन्’ भने ।

‘राष्ट्रिय मानवअधिकार आयोगले अझै पनि हामीमाथि भइराखेको दमनको बेवास्ता गर्यो भने पहिलो चरणको रुपमा आयोगका कार्यालयहरु अगाडि शांतिपूर्ण धर्ना दिइने’ डा. राउतले भने ।

प्रेस-विज्ञप्ति 
‘रंगभेद विरोध दिवस’को अवसरमा डा. सी. के. राउत सहित २०० भन्दा बढी स्वतन्त्र मधेश समर्थक गिरफ्तार; प्रहरी दमनमा करीब पाँच दर्जन घाइते, बाँके प्रहरी हिरासतमा प्रवक्ता सहित चार जनालाई चरम यातना
 
२०७३ साल मंसीर १४ गते, काठमाडौं।  गत शुक्रवार मधेशका विभिन्न जिल्लामा डा. सी. के. राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुले शान्तिपूर्ण रुपमा मनाउन लागेको रंगभेद विरोध दिवसको क्रममा नेपाल प्रहरीले २०० भन्दा बढी समर्थकहरुलाई अत्यधिक बल प्रयोग गरी लाठी चार्ज गर्दै गिरफ्तार गरेका थिए। सो क्रममा जनकपुरबाट डा. सि.के.राउत सहित ३२ जना, नेपालगंजबाट ५५ जना, नवलपरासीबाट १९ जना, रुपन्देहीबाट ७०जना, कपिलवस्तुबाट ७ जना, रौतहटबाट करीब ५० जना, मोरङ्गबाट ११ जना, झापाबाट ७ जना र पर्साबाट १३ जनालाई गिरफ्तार गरिएको थियो। धनुषा, रुपन्देही र बाँकेमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करीब पाँच दर्जन कार्यकर्ताहरू घाइते भएका थिए भने प्रहरीले झण्डा, ब्यानर सहितका प्रदर्शन सामग्रीहरु समेत खोसेर लगेका थिए।
 
प्रदर्शनकारीहरुले ‘रंगभेदको अंत गर’, ‘जनमतसंग्रह घोषणा होस् – मधेश देश स्वतंत्र होस्’, ‘औपनिवेशिक शासन अंत गर’, ‘मधेश देश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए। 
रुपन्देही र बाँके जिल्ला बाहेकमा गिरफ्तार गरिएकाहरुलाई सोही दिन सांझ १० बजे सम्ममा छाडिएको थियो।
रुपन्देहीमा हिरासतमा लिइएकालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुना कक्षमा राखिएको थियो । त्यहाँ गैर-मधेशी थुनुवाहरुलाई प्रयोग गरी प्रहरीले उनीहरुलाई थप कुटपीट गर्न लगाएको थियो। प्रहरी नायव उपरीक्षक बेल वहादुर पाण्डेले कैदीहरुलाई कुटपीट गर्न आदेश दिनुका साथै “यदि तिमीहरु स्वतन्त्र मधेशको माग गर्छौ भने गोली हानी ज्यान मार्ने” धम्की समेत दिएका थिए। त्यहाँ अन्य मुद्दामा (लागु औषध) मुद्दामा पक्राउ परेका कैदीहरुलाई प्रयोग गरी कुटपिट गरिएको थियो। प्रहरी नायव उपरिक्षकको कुटाईवाट वर्ष ३० को धर्मेन्द्र गुप्ताको अनुहारमा घाऊ भएको छ । प्रहरीले दिएको यातनाको कारणले २८ जना घाइते भएका छन । तिनीहरुलाई २४ घंटा भन्दा बढी समय हिरासतमा राखेर शनिवार बेलुका मात्रै रिहा गरिएको थियो। 
बाँके जिल्लामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १६ जना कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी “इन्डीयन देशी, नेपाललाई विभाजन गर्ने कुरा गर्छस्, सबैको नागरिकता खारिज गरी दिने” भन्दै नाम थाहा नभएको प्रहरी हवल्दारले बाँसको र प्लास्टीकको पाईपले पीटेर यातना दिएका थिए। पक्राउ परेकाहरु मध्ये अब्दुल खान (प्रवक्ता), इरफान शेख, राजेन्द्र पासवान, हरपाल सिहं, राममनोहर यादव लगायतलाई बढी यातना दिएको कारणले हिँडडुल गर्न समेत कठिनाई रहेको छ। बाँके जिल्लाका एसपी टेक बहादुर राईले त्यहाँ थुनामा रहेका अन्य बन्दीहरुलाई समेतलाई लगाएर कुटपीट गर्न र यातना दिन लगाइएको थियो। त्यहाँ पक्राउ गरिएका सबै जनालाई ४८ घंटा भन्दा बढी समयसम्म हिरासतमा राखी मंसीर १२ गते आइतबार बेलुकाको ५ वजे रिहा मात्रै रिहा गरिएको थियो। रिहा पश्चात् चरम यातना भोगेकाहरु स्थानीय भेरी अस्पतालमा उपचार्थ भर्ती थिए र आज मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ। 
२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै ‘रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने निर्णय गरेको थियो । यस भन्दा अघिल्लो वर्ष पनि सो दिवस मनाइएको थियो, जसमा लगभग १५० जनाले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए। 
 
शांतिपूर्ण रुपले प्रदर्शन गर्दा समेत नेपाल प्रहरीद्वारा गरिएको यस गिरफ्तारीको गठबन्धन घोर-भर्त्सना गर्दछ र सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गर्दछ। 
 
कैलाश महतो, सहसंयोजक
स्वतन्त्र मधेश गठबन्धन, 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.