
मनिष गुप्ता, कपिलवस्तु १४ मंसिर । “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा ७ करोडको कारोबार भएको छ ।
स्थानीय कृषि तथा घरेलु उत्पादनको बिक्री वितरण, बजारीकरण, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रचार र प्रवद्र्धनका साथै बहादुरगञ्ज स्थित सर्पदंश उपचार केन्द्रलाई सहयोगार्थ संचालन गरिएको महोत्सव चुनौतीका बावजुत पनि निकै सफल भएको आयोजकले बताएका छन् ।
“कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित मंसिर २ गतेदेखि संचालन गरिएको महोत्सव मंसिर १३ गते सकिएको आयोजक संस्थाका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताए ।
महोत्सव समापनका अवसरमा अध्यक्ष पोखरेलले १ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिए । महोत्सव अवधिभर करीब ७ करोडको कारोबार भएको पोखरेलले दाबी गरेका छन् ।
गेट टिकट विक्री, पार्किङ, बालउद्यान, टेक्टर विक्री तथा प्रदर्शनीमा राखिएका विभिन्न सामान विक्रीबाट सो बराबरको कारोबार भएको पोखरेलले बताए ।
गत २०७१ सालमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले पहिलो पटक महोत्सवको शुरुवात गरेको थियो । त्यस्तै गतवर्ष २०७२ मा चन्द्रौटा उद्योग वाणिज्य संघले महोत्सव संचालन गरेको थियो ।
मेला महोत्सवलाई निरन्तरता दिंदै यस वर्ष व्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गरी सफलता पूर्वक सम्पन्न गरेको हो ।
महोत्सव समापनको अवसरमा प्रमुख अतिथि सांसद बलराम अधिकारीले स्थानीय उत्पादन तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार, विकास र प्रवद्र्धनका लागि मेला महोत्सव आवश्यक रहेको बताए ।
उनले मेला महोत्सवबाट संकलित रकमबाट ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
महोत्सव भव्यताका साथ सफल बनाउन यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको अहम भूमिका रहेको औल्याउँदै प्रमुख अतिथि अधिकारीले यसले सम्पूर्ण जातजाति, भाषाभाषी विचार एवं धार्मिक आस्था राख्ने समुदायबीच एकता, सद्भाव र भाइचाराको सम्बन्ध विस्तामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस किसिमको सामाजिक कार्यलाई सबै मिली निरन्तरता दिनुपर्नेमा उहाँले सुझाव दिए ।
कार्यक्रमका विशिष्ट अतिथि सांसद एवं पूर्व कृषि मन्त्री अकबाल अहमद शाहले स्थानीय उत्पादन, पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन र बजारीकरणका लागि पनि मेला महोत्सव आवश्यक रहेकोमा जोड दिए ।
उनले सांसदहरुले पनि आफ्नो ठाउँबाट जनताकै लागि काम गरिरहेको भन्दै सांसदलाई गालीगलोजभन्दा पनि काम गर्न हौसला दिनुपर्ने बताए । जनताको साथ रहेमा आफूहरुलाई पनि काम गर्न थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे । साथै उनले चन्द्रौटा महोत्सव भव्यताका साथ सफल भएकोमा शुभकामना व्यक्त गरे ।
यसैगरी कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्या, सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गण चन्द्रौटाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापामगर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा लगायतले मेला सोँचे भन्दा पनि राम्रो तरिकाले सफल भएकोमा गर्भ महसुस भएको बताउँदै आयोजकलाई बधाई दिएका थिए ।
कार्यक्रमकै अवसरमा प्रदर्शनीका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने व्यक्ति तथा स्टलहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । मेला महोत्सवलाई सफल बनाउन रातदिन खट्ने सम्पूर्णलाई मायाको चिनोले सम्मान गरिएको थियो ।



