
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १४ मंसिर । केही समय अघि एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रुपन्देही जिल्ला कार्यसमिति बीच एकीकरण समारोह कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ ।
राप्रपा जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा आपूर्तिमन्त्री तथा संसदीय दलका उपनेता दीपक बोहरा, नेता निरञ्जन थापा, इस्तियाक अहमद खान, केन्द्रीय सदस्यहरु विन्दु पहाडी, निलकण्ठ काफले, प्रदीप उदय, ताहिर अली लगायतले बोल्दै दुई पार्टीको एकीकरण पछि राप्रपा एउटा वैकल्पिक शक्तिको रुपमा उदाउने दावी गरे ।
उनीहरुले जिल्ला एकता भेला रुपन्देहीबाट सुरुवात हुनु निकै खुशीको विषय भएको बताए ।
एकता समारोह कार्यक्रमले सागर प्रताप राणा अध्यक्ष र बसन्त विक्रम शाहीलाई पार्टी रुपन्देही जिल्लाको सह–अध्यक्षमा चयन गरेको नेता ताहिर अलीले जानकारी दिए ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



