
हुलाकी न्यूज, काठमाडौं १३ मंसिर । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने चर्चा चलिरहेकै बेला संयुक्त वक्तव्य जारी भएको छ ।
यादव र डा. भट्टराईद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सबै खालेको विभेदको अन्त्य हुने गरी नेपालको संविधान संशोधन हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनु पर्दछ ।’
आन्दोलनरत् पक्षले उठाएका महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नै नहुने गरी गरिने संशोधनले मुलुकको समस्या समाधान हुन नसक्ने मात्र होइन, संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि नहुने विज्ञप्ति ठहर छ ।
‘यसले शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने कार्य मात्र हुनेछ । यसर्थ, राष्ट्रिय समस्याहरुका ठोस समाधान हुनेगरी संविधान संशोधन गरिनु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।



