madhesh_rangbhedi_diwas
हुलाकी न्यूज, काठमाडौं १० मंसिर ।
नेपाल सरकारले छालाको रंगका आधारमा मधेशीहरुसँग विभेद गर्दै आएको विरोधमा मधेशका जिल्लाहरुमा भएको प्रदर्शनमा करिब दुई सयभन्दा बढी मधेशीहरु पक्राउ परेका छन् ।

रंगभेदी दिवस नाम दिइ मधेशका विभिन्न जिल्लामा शुक्रबार मधेशीहरुले प्रदर्शन गरेका छन् । ‘रंगभेदको अंत गर’, ‘जनमतसंग्रह घोषणा होस् – मधेश देश स्वतंत्र होस्’, औपनिवेशिक शासन अंत गर’, ‘मधेश स्वतंत्र गर’, ‘डा.सीके राउतलाई मुक्त गर’ जस्ता नारा लगाएर मधेशीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसहित विभिन्न जिल्लाबाट २ सयभन्दा अधिक गठबन्धनका कार्यकर्ता तथा सर्वसाधारण मधेशीहरु पक्राउ परेका हुन् ।

गठबन्धनले जारी गरेको विज्ञप्ति अनुसार शुक्रवार विभिन्न जिल्लामा डा. राउतका समर्थकहरुले शान्तिपूर्ण रुपमा मनाउन लागि रहेको रंगभेदि दिवश क्रममा नेपाल प्रहरीले २०० भन्दा बढी समर्थकहरुलाई अत्यधिक बल प्रयोग गर्दै लाठी चार्ज गरी पक्राउ गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘अहिलेसम्म प्राप्त जानकारी अनुसार जनकपुरमा डा.राउतसहित ७३ जना, नेपालगंजबाट ५५, नवलपरासीबाट १९, रुपन्देहिबाट ७०, कपिलवस्तुबाट ७, रौतहटबाट ५०, मोरङ्गबाट ११, झापाबाट ७ र पर्सा जिल्लाबाट १३ जनालाई गिरफ्तार गरिएको छ । जनकपुर र रुपन्देहीमा प्रहरीले बल प्रयोग गर्दा शान्तिपूर्ण प्रदर्शन गरिरहेका करीब दुई दर्जन कार्यकर्ताहरू घाइते भएका छन् भने प्रहरीले झण्डा, ब्यानरसहितका प्रदर्शन सामाग्रीहरु समेत खोसेर लगेका छन् ।’

‘२०७१ साल मंसिर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दाबढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसिर १० गते प्लाकार्डसहित शांतिपूर्ण प्रदर्शन गर्दै ‘रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने निर्णय गरेको थियो । यसभन्दा अघिल्लो वर्ष पनि सो दिवस मनाइएको थियो, जसमा लगभग १५० जनाले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए ।’ गठबन्धनको विज्ञप्तिमा उल्लेख छ ।

शान्तिपूर्ण रुपले प्रदर्शन गर्दा समेत नेपाल प्रहरीद्वारा गरिएको धरपकडको गठबन्धन घोरभत्र्सना गरेको छ । साथै सम्पूर्ण पत्रकार, मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारद्वारा गरिएको धरपकडको विरोधमा आवाज उठाई दिन गठबन्धनले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.