
हुलाकी न्यूज, काठमाडौं काठमाडौं ८ मंसिर । संविधान संशोधन प्रस्ताव दर्ता भएपछि मात्र समर्थन गर्ने वा नगर्ने निर्णय आउने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले बताएका छन् । बुधबार छलफल भएपनि मिडियामा आएजस्तो मोर्चाले कुनै सहमति नगरेको नेताहरुले बताएका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले काँग्रेस माओवादीसँग कुनै सहमति नभई संशोधन प्रस्ताव दर्तामा आफुहरुको अवरोध नगर्ने कुरा मात्र भएको बताए । उनले प्रस्ताव दर्ताप्रति मोर्चाको कुनै आपत्ति नहुने निष्कर्ष बुधबारको बैठकमा निकालिएको बताए ।
यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बुधबारको बैठक पछि संशोधन प्रस्ताव दर्ताको बाटो खुलेको बताए । हुलाकी न्यूजसँग मन्त्री लेखकले भने,‘अब एमाले विना नै दुई–तीन दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुनेछ । तर एमालेसँग पनि छलफल जारी रहनेछ । हाम्रा मुख्य असन्तुष्ट पक्ष मधेशी मोर्चा प्रस्तावको समर्थनमा देखिएको छ ।’
मोर्चाका नेताहरुले संशोधनको विषयबस्तुमाथि सहमति भइ नसकेको हुलाकीलाई बताए । त्रिपाठीले भने,‘संविधान संशोधन प्रस्ताव दर्ता गर्न मात्र स्वीकृति जनाएका छौं, संशोधनको अन्तरबस्तुमा सहमति भइसकेको छैन ।’
यता मोर्चा श्रोतका अनुसार संशोधनका विषय बस्तुहरुमा मोर्चाका शिर्ष नेता र सत्तारुढ दलका शिर्ष नेताहरुबीच आन्तरिक सहमति भएको छ । संशोधन प्रस्ताव पास हुने अवस्था आए मोर्चाका नेताहरुले असहमतिका विषयमा ‘नोट आफ् डिसेन्ट लेख्दै’ अगाडि बढ्नेछन् ।
बैठकपछि माओवादी नेता वर्षमान पुनले मधेशी मोर्चासँगको छलफल सकारात्मक रहेको बताउँदै संशोधन प्रस्ताव दर्ताका लागि बलियो आधार तय भएको बताए । पुनले संशोधनका अन्तरबस्तुमा पनि सकारात्मक कुरा भएको जनाए ।



