upendra yadav
हुलाकी न्यूज, राजविराज ७ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको कठोर आन्दोलन र बलिदानी खेर नजाने बताएका छन् ।

सप्तरीको मल्हनियाँमा मङ्गलवार आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले भने ‘मधेशी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिने छैनौं, मधेशको हक अधिकार संविधानमा उल्लेख नभएसम्म औचित्यहीन हुनेछ ।’

उनले वर्तमान सरकार मधेशको माग सम्वोधन गर्न गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताएका छन् ।

उनले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई संघीय गठबन्धनको तर्फबाट दिईएको १५ दिने अल्टिमेटमको समायवधी समेत सकिन लागेको बताउँदै अध्यक्ष यादवले भने ‘वर्तमान सरकार मधेशको माग सम्वोधन गर्न गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने संघर्षको स्वरुप निर्णाय हुनेछ ।’

कार्यक्रमका फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशबाट अस्तित्व, स्वाभिमान र पहिचानका लागि शुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरुप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने बताए ।

‘मधेश आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्दैन, माग पुरा नभएसम्म आन्दोलन चलिरहन्छ’ उनले भने ‘मधेशको माग आदिवासी जनजाति, दलित तथा शोषित उत्पीडित सबैको माग हो ।’

वरिष्ठ नेता राई संघीय गठबन्धनको माग सम्वोधन गर्न दलहरुले आनाकानी गरिरहेकोप्रति आक्रोश व्यक्त गर्दै माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने बताए ।

‘यो आन्दोलन मधेशको मात्र हो भने ठान्नु शासकहरुकालागि ठूलो भूल हुनेछ’ उनले भने ‘यो आन्दोलन मधेश, पहाड र हिमालका शोषित उत्पीडित एवम् विभेदमा पारिएकाहरुको आन्दोलन हो ।’ माग सम्बोधन नभए अबको आन्दोलनलाई राष्ट्रियव्यापी रुपमा भयावह एवम् निर्णायक आन्दोलनको रुपमा अगाडि बढ्ने नेता राईले चेतावनी दिए ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् २ नम्वर प्रदेश प्रमुख रेणु यादवले अझैं पनि आफूलाई ठूला भनाउने दलहरुले संविधान संशोधन गर्न आनाकानी गरेर नौटंकी गरिरहेकोले सशक्त आन्दोलनको आवश्यकता औंल्याए । फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले मधेशको माग सम्बोधन गर्न ढिलाई भईरहेको भन्दै सशक्त आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउने बताए ।

कार्यक्रममा सांसद लक्ष्मी चौधरी, पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह, जिल्ला अध्यक्ष दिनेश कुमार यादव, उपेन्द्रनारायण चौधरी (पगरीवाला) लगायतले सम्बोधन गरे । क्षेत्र नम्वर–६ का अध्यक्ष अरुण यादवको अध्यक्षता तथा क्षेत्र नम्वर ४ का अध्यक्ष सुरेन्द्र यादवद्वारा सञ्चालित कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकन्त्रिक सप्तरीका वरिष्ठ उपाध्यक्ष महेन्द्र चौधरी, फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, वुद्धिजिवि रासिन्द्र यादवसमेत गरी मौवाहा, बेल्ही, बसवलपुर, ईनर्वा फूलबडिया, मल्हनमालगायत जिल्लाको पश्चिमी भेगका गाविस विभिन्न पार्टीमा रहेका करिब ७ सय जना संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई अध्यक्ष यादव, वरिष्ठ नेता राई, प्रदेश प्रमुख यादवलगायका नेताले फूलको माला र अबीर लगाएर स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.