
हुलाकी न्यूज, महोत्तरी ८ मंसिर । शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादवले स्थानीय निकायको पूर्नसंरचनामा धेरैको असहमति देखिएकोले पुरानै संरचना अनुसार नै निर्वाचन गरिनुपर्ने तर्क गरेकी छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शान्ति समिति महोत्तरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले स्थानीय निकायको अहिलेको संरचना अनुसार नै जनताले सेवा, सुविधा नपाईरहेको अवस्थामा एकदमै कम मात्रामा स्थानीय निकायको संख्या हुँदा झन समस्या देखिने भएकोले पुरानै संरचना अनुसार निर्वाचन गर्दा राम्रो हुने बताइन् ।
अहिले पनि शान्ति स्थापनाको आवश्यकता देखिएको बताउँदै मन्त्री यादवले सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगको केही मागहरु पुरा भइसकेकोले आयोगको काम अब दु्रतगतिमा अगाडी बढने बताइन् ।
उनले सत्य निरुपण र बेपत्ता छानविन आयोगले अहिलेसम्म निवेदन संकलन गरिसकेको र अब ति निवेदनमाथि छानविन गरिने वताउँदै मन्त्री यादवले भनिन्, ‘आयोगले दिने प्रतिवेदनकै आधारमा सरकार अगाडी बढ्छ, यसमा शंका नगरे हुन्छ ।’



