
रविन्द्र प्रताप गुप्ता, भैरहवा ८ मंसीर । शान्तिकुञ्ज हरिद्वारको तत्वाधान तथा गायत्री परिवारको आयोजनामा भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिर प्राङ्गणमा मंसिर ४ गते देखि सुरु भएको लोक जागरण जन सम्मेलन विराट १०८ कुन्डीय गायत्री महायज्ञ सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमका बीच तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ७ का सांसद कमलेश्वर पुरी गोश्वामीले महायज्ञको समापन गरेका छन् ।
महायज्ञको पहिलो दिन ११११ कलश यात्राबाट नगर परिक्रमा, दास्रो, तेस्रो र चौथो दिन महायज्ञ बिहान ६ बजे देखि ८ बजेसम्म जप, ध्यान प्रयायोग, व्यायाम र ८ः३० बजे देखि ११ः३० बजे सम्म गायत्री महायज्ञ हवन र ३ बजे देखि ४ बजे सम्म आयोजक एवं स्वयंसेवक गोष्टी तथा ६ बजे देखि ९ बजे सम्म संगीत प्रवचन कार्यक्रम भएको गायत्री परिवारका अध्यक्ष जगरनाथ अग्रहरीले बताए ।
उनले महायज्ञको पूर्व संध्यामा मंसिर ३ गते बिहान ७ बजे दखि हनुमान मन्दिर देखि गल्लामण्डी हुँदै मिलन चोक नारायण पथ हुँदै लुम्बिनी गेटसम्म नगर सरसफाई तथा जनचेतना कार्यक्रम समेत सम्पन्न भएको बताए ।
महायज्ञमा काठमाडौं, पोखरा, गुल्मी, नवलपरासी, कपिलवस्तु गरी ६० जिल्लाबाट तथा भारतको गोरखपुर, महाराजगंज लगायत विभिन्न स्थानबाट करिब १५ हजार भक्तजनहरु सहभागी भएको अग्रहरीले जानकारी दिए ।
महायज्ञ रकम संकलन गर्नको लागि नभई विश्व शान्ति मानव कल्याण्को लागि मात्र आयोजना गरिएको प्रचार प्रसार समिति संयोजक लक्ष्मण गुप्ताले बताए । त्यसै गरी महायज्ञमा बाहिरबाट आउने अतिथि तथा भक्तजनहरुलाई खान तथा बस्न निःशुल्क व्यवस्था भएको गुप्ताले जानकारी दिए ।
महायज्ञ सफल पार्न सहयोग गर्ने सम्पूर्ण सामाजिक संघ–संस्था, कार्यालय, उद्योगी, व्यवसायी तथा समाजसेवीहरुलाई प्रमुख अतिथि तथा सांसद गोश्वामीले सम्मान गरेका थिए ।



