
हुलाकी न्यूज, ललितपुर ६ मंसिर । अहिलेको संविधान संशोधन सम्बन्धी विवादका सम्बन्धमा एमाले नेता केपी शर्मा ओलीले संविधान कार्यान्वयन नगरी संविधान संशोधनको विदेशी एजेण्डा बोक्नु राष्ट्रघाती काम हो भनेको प्रति आक्रोश पोख्दै संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले ओली नै पहिलो राष्ट्रघाती रहेको बताए ।
उनले भने, यदि यो कुरा सत्य हो भने केपी ओली स्वयम् प्रधानमन्त्री भएको बेला संविधान संशोधनको तथाकथित विदेशी एजेण्डा बोक्ने र संविधान कार्यान्वयन गर्न नसकी एकतर्फी रूपमा संविधानको पहिलो संशोधन गर्ने केपी शर्मा ओली नै पहिलो राष्ट्रघाती भएको बताए ।
‘हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेका छौं,’ उनले भने ।
सङ्घीय समाजवादी फोरम, नेपाल ललितपुर जिल्लाको शनिबार कृष्णभक्त डंगोलको अध्यक्षतामा पुनर्गठन भएको छ । पार्टी सचिव सुरेन्द्र महर्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा ललितपुर जिल्ला इन्चार्ज न्हुच्छेलाल महर्जनले ३१ सदस्यिय जिल्ला तदर्थ समितिको घोषणा गरेको थियो ।



