
हुलाकी न्यूज, काठमाडौं ३ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भनेजस्तै सबै कुराहरु पूरा हुन नसक्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले अहिले नै सिमांकनको विवाद पूर्ण रुपमा मोर्चाले भनेजस्तो हल नहुने जिकिर गरे ।
उनले भने, ‘अहिले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुरको विवाद छ, यी पाँच वटा जिल्लाहरुलाई संघीय आयोगमार्फत टुँग्याएर जानुपर्छ भन्ने प्रधानमन्त्रीको सोच छ, पाँच जिल्लाहरुको विवाद अहिले नै टुँग्याउन सकिँदैन, आयोगले यी जिल्लाहरुको विवाद टुँगो लगाउने विषयमा मधेशी मोर्चा सहमत हुनुपर्छ ।’
पुन अनन्तले यही हप्ता अर्थात मंसिर ६ वा ७ गते सरकारले सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन् ।
प्रमुख तीन दलवीच सहमतिकै आधारमा संविधान संशोधन प्रस्ताव पेश गर्ने वातावरण बनेको उल्लेख गर्दै यही मंसिर ६ वा ७ गते प्रस्ताव सरकारले पेश गर्ने बताएका हुन् ।
बालुवाटारमा बिहीबार भएको तीन दलकोे बैठकमा शीर्ष नेताहरु संविधान संशोधनको अन्र्तवस्तुमा सहमति निकट पुगेको उनको विश्वास थियो ।



