
हुलाकी न्यूज, काठमाडौं २ मंसिर । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले संविधान संशोधनमा केन्द्रित हुने समझदारी पनि गरेको छ ।
बिहीबार प्रधानमन्त्री बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच छलफल भएको हो ।
तीनै दलका शीर्ष नेताहरुबीच भएको सो छलफलमा अब संविधान संशोधन विषयमा केन्द्रित हुने समझदारी भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा बसेको शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनि भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका विषयमा बुँदागत छलफल गरी साझा प्रस्ताव तयार पार्ने समझदारी भएको हो । फाइल फोटो



