
हुलाकी न्यूज, काठमाडौं २ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले सहकार्य गर्न खोज्दैछ । नयाँ शक्तिले मधेशी मोर्चाको मागमा आफुहरुको समर्थन रहेको भन्दै मोर्चासँग सहकार्य गरेर आन्दोलनमा जाने बताएका छन् ।
डा.भट्टराई मधेशी नेताहरुको आलोचना गर्दै आएका छन् तर काँग्रेस र माओवादी केन्द्र मोर्चासँग नजिकिए पछि उनले सहकार्य गर्न खोजेका छन् ।
नयाँ शक्तिको तर्फबाट मोर्चासहितको गठबन्धनसँग सहकार्य गर्न बनाइएको वार्ता समितिका संयोजक रामकुमार शर्माले आफूहरू सहकार्य गर्न तयार रहेको बताए । हुलाकी न्यूजसँग शर्माले संविधान संशोधनको पक्षमा आफूहरू पनि रहेको बताउँदै मोर्चासहितको मागलाई समर्थन गर्दै आएको जनाए ।
शर्माले भने, ‘हामी संविधान संशोधनको पक्षमा छौँ । मधेशी मोर्चासँग सहकार्य गर्न पनि तयार छौँ । हामी हाम्रो तर्फबाट प्रयास गर्दै छौँ, मोर्चाको तर्फबाट सकारात्मक संकेत आए हामी चाढै नै मोर्चासँग सहकार्य गरेर आन्दोलनमा जान सक्छौँ ।’
शर्माको नेतृत्वमा बनेको वार्ता समितिमा केशव दाहाल र कमला हेमचुली छन् । मंसिर ६ गते बस्ने वार्ता समितिको बैठकबाट मोर्चासँग सहकार्यका लागि औपचारिक रूपमा वार्ता हुने शर्माले जानकारी दिए ।
यता मोर्चाका तर्फबाट संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादवले सहकार्यका विषयमा छलफल आवश्यक रहेको बताए । बाबुराम भट्टराईले आत्मालोचना गरेर आएको खण्डमा मोर्चाले सकारात्मक निर्णय लिन सक्ने यादवले संकेत गरे ।
यादवले भने, ‘अहिलेको संविधान जारी गर्न बाबुरामजीको महत्वपूर्ण भूमिका थियो । उहाँले त्यति वेला गर्नुभएन र अहिले मधेशीको हितमा बोल्दै हुनुहुन्छ । उहाँलाई मधेशमा पचाउन सहज छैन तर आत्मालोचना गरेर आउनुभएको खण्डमा मोर्चाले विचार गर्नेछ ।’




kyal garer samjauta garnu hola natra pheri hamro morchalai phoder bhagn sakx. Best of luck