congress_morcha_meeting
हुलाकी न्यूज, काठमाडौं १ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सत्तारुढ दल नेपाली काँग्रेसलाई पनि संविधान संशोधनका लागि १५ दिने अल्टिमेटम दिएको छ ।

यसअघि मोर्चाले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई १५ दिन भित्र संविधान संशोधनका लागि अल्टिमेटम दिइसकेको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बुधबार साँझ भएको मोर्चा र काँग्रेसबीचको छलफलमा मोर्चाका नेताहरुले अल्टिमेटम दिएका हुन् ।

छलफलको सुरुमा मोर्चाका नेताहरुले आफ्ना धारणा राखेका थिए । तीन बुँदे सहमति कार्यन्वयनका लागि मोर्चाका नेताहरुले दबाब दिएका थिए । नेपाली काँग्रेस तीन बुँदे सहमतिका हस्ताक्षर कर्ता रहेकोले संविधान संशोधनमा अगाडि देखिनु पर्ने मोर्चाका नेताहरुले राखेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले बताए ।

कर्णका अनुसार मोर्चाका नेताहरुले नेपाली काँग्रेस संविधान संशोधनबाट पछि हट्न खोजेको आरोप पनि छलफलमा लगाएका थिए । १५ दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए मधेशी मोर्चा आन्दोलनमा जाने चेतावनी पनि मोर्चाका नेताहरुले दिएको कर्णले बताए ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस संविधान संशोधनका लागि तयार रहेको दाबी गर्दै संशोधनका लागि पार्टीभित्र र बाहिर पनि कुराकानी भइरहेको बताए । देउवाले अन्य दलसँग पनि परामर्श गरेर संशोधन प्रस्ताव दर्ता हुने बताए ।

तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले छलफल सकारात्मक भएको बताउँदै काँग्रेसका नेताहरु संविधान संशोधनमा लचक देखिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.