
हुलाकी न्यूज, काठमाडौं १ मंसिर । समानुपातिक समावेशी न्यायाधीश नियुक्तिका लागि तराई जस्टिस सेन्टरका अधिवक्ता दीपेन्द्र झाले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
अधिवक्ता झाले मंगलबार न्याय परिषद्को सचिवलाय कुपन्डोल ललितपुरमा समानुपातिक समावेशी सिद्धान्तअनुसार न्यायाधीश नियुक्तिका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
जिल्ला अदालत, उच्च अदालत वा सर्वाेच्च अदालतमा न्यायाधीशको नियुक्त गर्दा न्याय परिषद ऐन, २०७३ को दफा ५ तथा न्याय सेवा आयोग ऐन, २०७३ को दफा १० को उपदफा (२) बमोजिम समानुपातिक समावेशी सिद्धान्त वमोजिम गरिनुपर्ने अधिवक्ताले ध्यानाकर्षण गराएका हुन् ।
अधिवक्ता झाले ध्यानाकर्षण पत्रमा ‘न्याय परिषदको प्रवृतिलाई हेर्दा संविधान बमोजिम समानुपातिक समावेशीको सिद्धान्त बमोजिम नियुक्ति गरिएको देखिदैन । फलस्वरुप २३७ जिल्ला न्यायाधीशमा महिला, दलित, मधेशी, मुस्लीम, थारुको सहभागिता लगभग न्युयन रहेको कुरा स्मरण गराउन चाहन्छु’, उल्लेख गरेका छन् ।



