samachakewa
अमरेन्द्र कुमार यादव, जनकपुरधाम, ३० कार्तिक ।
तराई–मधेशमा दाजुभाई तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सोमबार विधिवत् रुपमा सम्पन्न भएको छ ।

दिदीबहिनीले दाजुभाइको दीर्घायु, मङ्गल कामना एवं सुख समृद्धिको कामना गर्दै घर–घरमा दिदीवहिनीले सामुहिक रुपमा कात्र्तिक शुक्ल पञ्चमीदेखि विधिवत रुपमा सुरु गरी खेल्ने सामा चकेवा सोमबार साँझ विर्सजन गरेका छन् ।

माटोबाट निर्माण गरिएका विभिन्न कलात्मक प्रतिमा स्वरुप सामा चकेवा लगायतका पात्रलाई विदाई गरी यो पर्वको समापन भएको छ ।

सोमबार साँझ दिदिबहिनीहरुले आफ्नो दाजुभाईलाई घरमा बोलाएर आँगनमा चामलको पीठोबाट बनाइएका कलात्मक अरिपनमा उनीहरुले निर्माण गरेका माटोका मूर्तिहरु र सामाचकेवालाई चढाउनका लागि प्रसादका रुपमा नयाँ धानको च्यूरा, धानको बाला, केरा, दही, चिनी र मिठाई पान, सुपारी, अरुवा चामलसमेत बाँसको टोकरीमा राखेर दाजुभाइका हातबाट माटोबाट निर्माण गरिएको ती कलात्मक प्रतिमा सामा चकेवा फुटाउन लगाई मध्यरातमा जोतिएको खेत वा निर्जन वनमा गाडेर पर्व समापन गरिएको हो ।

यस पर्वको मुख्य पात्र सतभैया (सप्तर्षि), चुगला, सामा र चकेवाका माटाका आकृति अगाडि राखेर गीत गाउँदै प्रत्येक दिन चुगलाको दाह्रीमा आगाले झोस्दै त्यो दिनको खेल सम्पन्न गरिएको छ । यस अवसरमा दाजुभाइले आफ्नो स्वेच्छानुसार दिदीबहिनीलाई वस्त्र र दक्षिणा दिने गर्छन् ।

दाजुभाई तथा दिदीबहिनीबीच पवित्र प्रेमको प्रतीकका रुपमा मनाइने यो सामाचकेवा पर्व आजभन्दा करिब साँढे पाँच हजार वर्ष पहिले द्वापर युगदेखि सुरु भएको मिथिलाका संस्कृति विदहरु बताउँछन् ।

साथै पुराणमा उल्लेख गरिएअनुसार कृष्णकी छोरी सामा वृन्दावनको जङ्गलमा घुमफिर गर्न गएको बेलामा ‘डिहुली’नामक नोकरानीले कृष्णसमक्ष सामा वनका तपस्वी ऋषिहरुसित रमण गरिरहेको झुटो कुरा लगाइन् ।

कृष्ण आवेशमा आएर वास्तविक कुरा नबुझी छोरी सामालाई चरा हुने श्राप दिए । सोही श्रापका कारण चरा बनेकी बहिनीलाई मुक्त गराउन दाइ साम्बले घोर तपस्या गरी पुनः मानव चोलामा फर्काएको विश्वासमा यो पर्व मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.