
हुलाकी न्यूज, रौतहट ३० कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरु नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई कालोझण्डा देखाउँदै विरोध गर्दा हिरासतमा परेका छन् ।
मंगलबार रौतहटको सदरमुकाम गौरस्थित जिल्ला विकास समितिमा आयोजित एक कार्यक्रममा आएका नेता नेपाललाई कालोझण्डा देखाउँदै विरोध गर्दा मधेशी मोर्चाका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले माधव नेपाल मधेश विरोधी भन्दै नाराबाजी गरेका थिए ।
प्रहरीले सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादव, तमलोपाका केन्द्रीय सदस्य अरुण सिंह, तमलोपाका नेता अनिल सिंह, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, विनय कर्ण, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष प्रकाश भाई, युवा मंच केन्द्रीय सदस्य दिनेश यादव, विद्यार्थी मंचका केन्द्रीय सदस्य दिपेन्द्र यादव, नेतृ प्रभा सिंह, विद्यार्थी फोरमका केन्द्रीय सदस्य ललन यादव, लडडू साह लगायतलाई पक्राउ गरेको छ ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय गौरमा राखेको छ ।



