हुलाकी न्यूज, काठमाडौं, कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई थप १५ दिनको समयसिमा दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानन्त्री पुष्प कमल दाहाललाई स्मरण पत्र बुझाउँदै गठबन्धनका नेताहरुले १५ दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए पुनः सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
गठबन्धनका तर्फबाट उपेन्द्र यादवले स्मरण पत्र बुझाएका थिए ।
प्रधानमन्त्री दाहालले काँग्रेस सभापति शेरबहादुर देउवाले तरुण दलको महाधिवेशनसम्मका लागि संशोधन प्रस्ताव रोकेको जनाए । दाहालले आफु २६ गते नै संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा रहेको तर देउवाको कारणले ढिलो भएको सुनाए ।
स्मरण पत्र बुझाउन गएका नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाका अनुसार प्रधानमन्त्रीले १५ दिनको समय बढी भएको बताउँदै केही दिनभित्रै संशोधन प्रस्ताव दर्ता हुने आश्वासन दिए ।






Be fine