morcha-leaders
हुलाकी न्यूज, काठमाडौं, कार्तिक ।
सरकारले अबको दुई दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने घोषणा गरे पनि संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक मसान्तभित्र संशोधन प्रस्ताव दर्ता हुने बताउँदै संशोधनका विषयवस्तुमा सहमतिनजिक रहेको जनाएका छन् । तर, मोर्चाका नेताले भने आफूहरूसँग छलफल नै नगरी सरकारले गर्न खोजेको संशोधन आफूहरूलाई मान्य नहुने बताएका छन् ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको विषयवस्तुबारे मोर्चासँग सरकारले कुनै छलफल नगरेको बताए । हुलाकी न्यूजसँग महतोले भने, ‘संशोधनको विषयवस्तुमा सरकारले हामीसँग छलफल गरेको छैन । हामीले हाम्रो माग राखिसकेका छौं । तर, कुन मागमा कुन संशोधन हुन लागेको भन्नेबारे हामीलाई जानकारी छैन ।’

सरकारले एकतर्फी रूपमा संशोधन गर्न लागेको आरोप लगाउँदै महतोले भने, ‘तीन पार्टीले आफ्नो किसिमले संशोधन गरे हामीलाई मान्य हुनेछैन । संशोधनको माग हाम्रो हो हामीसँग छलफल गरेर प्रस्ताव आए राम्रो हुने थियो । तर, अहिलेसम्म छलफल नै भएको छैन ।’

यता, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले संविधान संशोधनका विषयवस्तुबारे मोर्चालाई जानकारी नभएको बताए । राईले भने,‘विभिन्न सञ्चार माध्यमबाट हामीले थाहा पाएका छौं संविधानको यो वा त्यो विषय संशोधन हुँदै छ रे । तर, हामीसँग कुनै सल्लाह गरिएको छैन । हामीले हाम्रो ११ बुँदे र २६ बुँदे माग बुझाइसकेका छौं । तर, त्यसबारे सरकारको धारणा अहिलेसम्म आएको छैन ।’

संशोधन प्रस्ताव दर्ता भएपछि मात्र आफूहरूले आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष महतोले बताए । उनले अहिले नै विषयवस्तुमाथि टिप्पणी गर्नु उचित नभएको बताउँदै मोर्चाको मागविपरीत आएको संशोधन प्रस्ताव आफूहरूले अस्वीकार गर्ने बताए ।

1 COMMENT

  1. nepal sarkale jun sanshodhan ko kura garechh tyo ho Madheshi janta lai Aankhama dhulo jhoknu kin bhane jati bunda haru sanshodhan garchh tyas madhe auta pani madhesh ra madheshi ko hit ma chhain.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.