प्रदिप यादव, गौर, ३ असोज ।
तीन दलले संविधान जारी हुने खुशीयालीमा आज दिपावली गर्न आह्वान गरेकै दिन मधेशका जिल्लाहरुमा कालो दिवस मनाइदैछ । रौतहटमा जिल्ला भरी नै कालो दिन मनाउने भव्य तयारी गरिएको छ ।
तीन दलले निर्माण गरेको सविधानको विरोध गर्दै रौतहटको सदरमुकाम गौर लगायत चन्द्रनिगाहपुर, गरुडा, बस्तपुर, झुनखुनवा, सन्तपुर, डुमरीया, जुडिबेला, कटहरीया, गंगा पिप्रा, ब्रहम्पुरी, राजपुर लगायतका अन्य गाउँहरुमा जनताले घर घरमा कालो झण्डा राखेर विरोध जनाएका छन् । मधेशीको सहभागिता र सहमति बिना जारी गर्न लागेको संविधान मधेशलाई मान्य नहुने बताउँदै यहाँका स्थानीयवासीहरुले घर घरमा कालो झन्डा टागेर विरोध गरेका हुन् ।

सो क्षेत्रका एमाले, कांग्रेस, एमाओवादीका नेता कार्यकर्ताहरुले समेत आ–आफना घरमा कालो झण्डा लगाएका छन् भने सडकको छेउमा रहेका बिजुली पोलहरुमा कालो झण्डा बाँधेका छन् ।
आक्रोशित स्थानीयले नेपाली कांगे्रसका सभासद जितेन्द्र यादव सुनिलको सदरमुकाम गौरमा रहेको २ तल्ले घरमा समेत कालो झण्डा लगाई घर अगाडी टायर बाली प्रर्दशन गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा चौक तथा घर घरमा स्थानीयले कालो झण्डा झुण्डयाउँदै अबको लडाई आरपारको भएको भन्दै मधेशको हकअधिकार र विगतमा भएको सहमतीलाई कार्यान्वयन नगरे नयाँ संविधान मधेशमा लागु नहुने बताएका छन् ।
आईतवार बिहानै आन्दोलनरत मोर्चाका नेता तथा कार्यकर्ताले संविधानको बिरोधमा कालो झण्डा हातमा लिएर बिरोध प्रदर्शन गर्दै घर दैलो र टाउकोमा कालोपट्टी बाँधेर मोटरसाईकल जुलुस निकालेका छन् ।
असोज ३ गते सविधान जारी गर्ने दिन तराईमा साँझ ७ बजेदेखि राती १० बजेसम्म बल्याक आउट गर्ने, ४ गते संविधान जलाई कालोपट्टी बाँधेर निषेधित क्षेत्र तोडी सदरमुकाममा विरोध प्रर्दशन गर्ने जस्ता विरोधका कार्यक्रमहरु तय गरिएको छ ।

हातमा कालो पट्टी बाँधेर काम गर्दै पत्रकार
त्यस्तै मधेशमा जारी आन्दोलन लाई बेवास्ता गर्दै तिन ठुला दलले आफु खुशी संविधान ल्याई मधेशका जनतालाई बन्धक बनाउने प्रयास गरेको भन्दै रौतहटबाट प्रसारणमा रहेको रौतहट एफएमका कर्मचारीहरु आजको दिनलाई कालो दिनको रुपमा मनाउँदै हातमा कालो पट्टी बाँधी कामकाज गरिरहेका छन् ।
रौतहट एफएमकर्मी धर्मेन्द्र साहका अनुसार तीन दलको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभएको तथा सो संविधान साम्प्रदायिक सोचले तयार भएकोले विरोध स्वरुप कालो पट्टी बाँधी कामकाज गरिएको हो ।
मधेशका युवाहरुले भने सामाजिक सञ्जाल खासगरी फेसबुकमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिरहेका छन् । संविधानको स्वागत गर्नेहरुले सार्वजनिक ठाउँहरुमा राष्ट्रिय झण्डा गाडिरहेका बेला शनिवार रातिदेखि नै मधेशमा कालोझण्डा गाड्ने र तीन दलको झण्डा जलाउने काम सुरु गरिएको छ ।







