abhinandan-garidai

हुलाकी न्यूज, जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरधाममा चक्रपथ सडक निर्माण तथा दुईवटा धर्मशाला निर्माण गर्ने घोषणा गरेका छन् । जनकपुरधाममा नागरिक अभिनन्दन ग्रहण गर्दै मुखर्जीले शुक्रबार उक्त घोषणा गरेका हुन् ।

नेपाल भ्रमणमा गत बुधबार आएका मुखर्जीले शुक्रबार जनकपुर पुगेर जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरको पुजा पछि जनकपुरधामको तिरहुतिया गाछीमा नागरिक अभियनन्दनको आयोजना गरिएको थियो । सोही अवसरमा जनकपुर उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गरेका हुन् ।

नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्यालगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिले जानकी मन्दिर परिसरमा मुखर्जीलाई स्वागत गरेका थिए । दिउँसो ११ः३७ बजे जनकपुर विमानस्थलमा आइपुगेका मुखर्जी १३ः२७ बजे पोखराकालागि उडेका छन् ।

जनकपुरको तिरहुतिया गाछीमा आयोजित नागरिक अभिनन्दन समारोहको सम्बोधन गर्दै मुखर्जीले जनकपुरमा आउने तिर्थयात्रीहरुका लागि दुई वटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका छन् । ‘नेपाल र भारतबीचको अटुट सम्बन्ध त छँदैछ साथै जनकपुरले पनि भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकारले यो क्षेत्रको विकासमा गम्भिर छ र हुनुपर्छ’ १३ मिनेट लामो भाषणमा उनले भने, ‘जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक भारत सरकारले निर्माण गर्ने घोषणा गर्न पाउँदा हर्षित छु ।’

यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने उनले आश्वासन दिए ।

भारतीय राष्ट्रपतिको आगमनभन्दा तिनघण्टा अघिदेखि नै जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको बाटो ब्लक गरिएको थियो । नागरिक अभिनन्दन ग्रहण गरेपछि भारतीय राष्ट्रपति मुखर्जिले नेपालमा शान्ती, स्थिरता र स्थायित्वको लागि भारत सदैव चिन्तित रहेको जनाउँदै नेपालले समावेशी आर्थिक विकास गर्दै आएकोमा धन्यवाद दिए ।

नागरिक अभिनन्दन समारोहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपतिको आगमनले सांस्कृतिक, ब्यापारिक र आर्थिक रुपमा जनकपुर समुन्नतीको बाटोमा हिंड्ने विश्वास ब्यक्त गरे । मुखर्जिलाई स्नेहको प्रतिक प्रदान गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली भूमि भारत विरोधी गतिविधिमा प्रयोग हुन नदिने जनाउँदै खुल्ला सीमाको कुनै दुरुपयोग नहुने आश्वास्त पारे ।

नेपाल र भारतको पौराणिक सम्बन्ध रहेकाले जनकपुर–लुम्बिनी र भारतको अयोध्या सहित धार्मिक स्थलहरुलाई हिन्दु–बौद्ध धार्किक पर्यटन सर्किटको रुपमा विकास गर्नु पर्ने उनले जोड दिए ।

मधेशको भूमि ज्यादै उर्वर रहेकाले रेल, कलकारखाना, बाढी नियन्त्रण तथा पर्यटन उद्योग विकासको लागि भारत सरकारले चासो देखाएका आशा व्यक्त गरे ।

१९ वर्षपछि जनकपुरमा भारतीय राष्ट्रपतिको भ्रमणले विकास निर्माणमा राज्यको ध्यानाकर्षण हुनुसँगै धार्मिक, सांस्कृतिक तथा आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.