
हुलाकी न्यूज, काठमाडौं, कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सीमांकन तथा राज्य पुनर्संरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने निर्णय गरेको छ ।
गठबन्धनको विहीबार काठमाडौंमा बसेको बैठकले संविधान संशोधनमा ढिलाई भएकोप्रति सरकारलाई सचेत गराउँदै सीमांकनको टुँगो नलागेसम्म कुनै खालको निर्वाचन हुन नदिने निर्णय गरेको हो ।
गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउँदा सरकारलाई समर्थन गरेका पक्षसँग कुनै सल्लाह नै नगरिएकोप्रति आपत्ति जनाउँदै महाअभियोग स्पष्ट भए मात्र आफ्नो धारणा सार्वजनिक गर्नेछ निर्णय गरेको छ ।
गठबन्धनको दुई नम्बर निर्णय अनुसार स्थानीय तह पुनर्संचरना आयोगद्धारा गरिएका काम कारबाही गठनबन्धनलाई मान्य नहुने जनाएको छ । गठबन्धनको विज्ञप्तिमा लेखिएको छ,‘जबसम्म, प्रदेशहरुको सीमांकन र सैद्यान्तिक रुपमा स्थानीय तह प्रदेश मातहत् रहने संविधानमा प्रावधान सुनिश्चित नहुञ्जेलसम्म कुनै पनि प्रकारको राज्यको पुनर्संचरना गठबन्धनलाई मान्य नहुने र सीमांकन तथा राज्य पुनर्संरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने गठबन्धनले निर्णय गरेको छ ।’
प्रधानमन्त्री निर्वाचनको बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीय गठबन्धनसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्नुको सट्टा समस्यालाई अझै अल्झाउने र विश्वासको वातावरण बिगार्ने काम भएको गठबन्धनले ठहर गरेको छ । गठबन्धनको मुद्दालाई ओझोलमा पारी मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रपञ्च गरिएको भन्दै तीन बुँदे सहमति कार्यान्वयनको लागि सरकारलाई गठबन्धनले सचेत गराएको छ ।
गठबन्धनका नेताहरुका अनुसार बैठकमा छठ पछि आन्दोलनमा जाने चर्चा भए पनि गठबन्धनका केही घटकले तत्कालै आन्दोलनमा जान नहुने तर्क गरेका थिए ।



