
हुलाकी न्यूज, काठमाडौं ९ कार्तिक । संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्न बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले मधेशी मोर्चासँग संशोधनका लागि छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधनबारे निर्णय गर्दै शीर्ष नेताहरुलाई मोर्चासँग वार्ताको जिम्मेवारी दिएको छ ।
बैठकपछि हुलाकी न्यूजसँग कुराकानी गर्दै कांग्रेस नेता रामकृष्ण यादवले संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्ने निर्णय गरेको बताउँदै मोर्चासँग छलफलको जिम्मेवारी शीर्ष नेतालार्य दिएको जनाए ।
यादवले भने, ‘संविधान संशोधन र स्थानीय निकाय पुनर्संरचनाको विषयमा बोलाइएको केन्द्रीय समिति बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा अधिकांश समय चर्चा भयो । तर, लोकमानको विषयमा केन्द्रीय समितिले कुनै ठोस निर्णय गर्न सकेन । संविधान संशोधनको विषयमा सम्पूर्ण केन्द्रीय सदस्यहरु एकमत देखिए र जिम्मेवारी शीर्ष नेतालाई दिइएको छ ।’
आफूहरुले मधेशमा तीन प्रदेशको कुरा राखे पनि त्यस विषयमा ठोस निर्णय नआएको र मोर्चासँग परामर्श गरेर संविधान संशोधन प्रस्ताव आउने यादवले बताए ।
उनले केही दिनभित्रै मोर्चाका नेताहरुसँग कांग्रेसले छलफल गर्ने जानकारी दिए ।



