
हुलाकी न्यूज, रघुनाथपुर (धनुषा) ८ कार्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनलाई ओझेलमा पार्न तीन दलले बिना मौसमको बाजा बजाउन थालेको टिप्पणी गरेका छन् ।
धनुषाको रघुनाथपुर गाविसमा सदभावना पार्टीद्वारा सोमबार आयोजित आमसभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताएका हुन् ।
मधेशी मोर्चाले उठाएका संशोधनलाई ओझेलमा पार्न लोकमान प्रकरण मंचन गरिएकोले महाअभियोग प्रस्ताव बिना मौसमको बाजा रहेको महतोले ठोकुवा गरे ।
महतोले छठ पर्व पूर्व संशोधन विधयेक प्रचण्ड सरकारले दर्ता नगराए आन्दोलन बाहेक अर्को बिकल्प नहुने चेतावनी दिएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, माओवादी र एमालेका करिब साढे तीन सयभन्दा बढी नेता कार्यकर्ता सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
सो कार्यक्रममा सांसद शैलदेवी महतो, सहमहासचिव सुरीता साह, प्रवक्ता लालकिशोर साह, जिल्ला अध्यक्ष संजय सिंह, युवा नेता योगेन्द्र राय यादवलगायतका वक्ताहरुले समसामायिक विचार राखेका थिए ।



