nsp
हुलाकी न्यूज, रौतहट ८ कार्तिक । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश मुद्दा ओझेलमा पार्ने षड्यन्त्रमा लागेको आरोप नेपाल सद्भावना पार्टीले लगाएको छ ।

रौतहटको सदरमुकाम गौरमा तीन दिनसम्म चलेको नेसपाको संघीय कार्यसमितिको विस्तारित बैठकपश्चात् जारी विज्ञप्तिमा सोमबार नेसपाले एक प्रेस विज्ञप्ति जारी गरी सो आरोप लगाएको हो ।

अहिलेको आवश्यकता संविधान संशोधन गरी कार्यान्वयन रहेतापनि तीन दलले बेमौसमको बाजा बजाएर मधेश मुद्दा ओझेलमा पार्ने षड्यन्त्र भइरहेको नेसपाको ठहर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको समर्थन फिर्ता लिन अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले दबाब दिने जनाएको छ ।

संसदमा दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका विरुद्धको महाअभियोगले मधेश एजेन्डालाई ओझेलमा पार्ने षड्यन्त्र गरिएको नेसपाको आरोप छ ।

मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ । संविधान संशोधनप्रति सरकार उदासीन रहेकोले मोर्चाले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष नेसपाको बैठकले निकालेको सांसद तथा प्रवक्ता डा. डिम्पल कुमारी झाले जनाएकी छन् ।

सो तीन दिवसीय बैठकले पार्टीका महासचिवद्वारा प्रस्तुत संगठनसम्बन्धी आगामी कार्ययोजना एवं पार्टीको छैठौं महाधिवेशन पश्चात् हालसम्म संघीय कार्यसमितिद्वारा सम्पादित कार्यहरुलाईसमेत अनुमोदन गर्ने निर्णय गरिएको जनाइएको छ ।

बैठकले विभिन्न जिल्लाहरुमा देखिएका कृषि क्षेत्र, प्रशासन, विद्युत, कर, भन्सार, वन, शिक्षा लगायतका क्षेत्रका समस्याहरु, बैंकिङ्ग क्षेत्रका समस्या, भारतीय रुपैयाँको उपलब्धतामा कमी लगायतका समस्याहरु जोडदाररुपमा उठाउँदै यसका सरकारी पक्षसँग समन्वय गरी दबाब समेत दिने निर्णय नेसपाले गरेको प्रवक्ता डा. झाले जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.