kapilvastu
मनिष गुप्ता, कपिलवस्तु ८ कार्तिक । मोटरसाइकल चोरी गर्दागर्दै दुई चोर रङ्गेहात पक्राउ परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको स्टीङ्ग अपरेसन टिमले चोरहरुलाई चोरी गरि भग्ने क्रममा रङ्गेहात पक्राउ परेका छन् ।

सूचना प्रविधि तथा निगरानीका आधारमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजेको समयमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १ उमरीचोकबाट मोटरसाइकल सहित चोरहरुलाई पक्राउ गरेका थिए ।
पक्राउ पर्ने चोरहरूमा दाङ जिल्लाको लमही नगरपालिका २, विद्युतडाँडा बस्ने देबेन्द्र लामाको छोरा १८ वर्षीय सन्तोष लामा र सोही ठाउँका देवप्रसाद थारुका छोरा २१ वर्षीय लक्ष्मण थारु चौधरी रहेका छन् ।

शिवराज नगरपालिका–१०, लक्ष्मीटोलका केशबहादुर सिंजाली थापाको घरको बरामदामा लक गरी राखेको लु ८ प ४६९३ नम्बर १८० सीसीको कालो रङ भएको पल्सर मोटरसाइकल रातिको समयमा लक तोडेर चोरी गरी लैजाने क्रममा सिभिल ड्रेसका प्रहरी टोलीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन चोरीको महल अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए । मोटरसाइकल टोपबहादुर थापाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

यसैबीच चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालयले एक सातामा ५ ओटा कागज पत्र नभएको मोटरसाइकल नियन्त्रणमा लिएको छ । जसमध्ये २२० सीसीको रातो र कालो रङको दुई ओटा पल्सर, १५० सीसीको कालो र निलो रङको दुईओटा पल्सर र १५० सीसीको कालो रङको एउटा अपाचे मोटरसाइकल रहेका छन् । प्रहरीले बेवारिसे तथा अनुसन्धानका क्रममा नियन्त्रणमा लिई प्रहरी परिसरमा जम्मा गरी राखेको छ ।

चन्द्रौटा क्षेत्रबाट अहिलेसम्म ८ ओटा मोटरसाइकल चोरी भइसकेका छन् । जसमा बेचन गुप्ताको लु १६ प ५०७४, पदम ढकालको लु १३ प ५५५४, सिराज खान डाक्टरको लु २० प ९४१७, विष्णु हमालको लु १८ प २३९८, तिलक गैरेको लु १२ प ४७७७, अनिरुद्र सापकोटाको लु २६ प ७६०४, आरएन खानको लु २२ प ९४३९ नम्बरको निलो रङको पल्सर मोटरसाइकल र टोप बहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल चोरी भएका छन् । चोरी भएकामध्ये विष्णु हमाल र टोपबहादुर थापाको मोटरसाइकल फेला परिसकेको छ ।

केही समय यता चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेपछि वडा प्रहरी कार्यालयले विशेष गस्ती अभियान संचालन गरेको छ । प्रहरीले संचालन गरेको अपरेसनका क्रममा अहिले प्रमाण नभएका मोटरसाइकल धमाधम पक्राउ पर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.