
हुलाकी न्यूज, काठमाडौं ६ कार्तिक । अमेरिकामा रहेको मधेशीहरुको संस्था एसोसिएसन अफ नेप्लीज तराइयन इन अमेरिका (एन्टा) जीएनवाईसी को अग्रसरतामा महान पर्व “छठ” मनाउने तयारीमा जुटेको छ ।
एन्टा जीएनवाईसीको वार्षिक कार्यक्रमका रुपमा मनाउने भनिएको छठ पुजा न्यू जर्सी स्थित डाक्टर उपेंद्र कर्णको घरमा गरिने तय गरिएको बारे जानकारी दिँदै यस संस्थाका अध्यक्ष तथा छठ पुजा समिति का संयोजक सुभाष कुमार बैठाले जानकारी दिएका छन् ।
उनका अनुसार पहिला मधेशीहरु आफ्नो सुविधा अनुसार छठ पर्व दुई चार जना मिलेर आफ्नै घरको स्विमिंग पुल आदिको किनारमा मनाउने गर्दथ्यो, तर यसपाली सबै जना मिली औपचारिक रूपमै संगठित भएर छठ पुजा गर्ने निर्णय लिएका छन् । ‘यसका लागि हामी हरेक किसिमको तैयारीमा लागेका छौं’, बैठाले भने ।
यसपालीको छठ पुजा विगतका वर्षभन्दा बृहत र संगठित हुने बताउँदै न्यू जर्सी, न्यू योर्क, पेन्सलभेनिया, डेलवर, कनेक्टिकटको आसपासका मधेशीहरुलाई छठ पुजामा सामेल हुन अनुरोध गर्दै यस संस्थाले एक विज्ञप्ति निकालेका छ ।



