birguj
राम सर्राफ, वीरगन्ज ५ कार्तिक । सर्वसाधारणलाई शान्तिसुरक्षा दिने दायित्व लिएको प्रहरीबाटै वीरगञ्जका व्यवसायी र आमजनता पीडित हुन पुगेका छन् ।

प्रहरीले आमजनतासित सम्बन्ध सुधार्ने भन्दै विभिन्न तामझाम गर्दै आए पनि प्रहरीको आचरण र व्यवहार आलोच्य बन्दै गएको छ ।
प्रहरीले नगरक्षेत्रमा चेकजाँचको नाममा जनता र आमव्यवसायीलाई चाडवाड खर्च माग गर्दै अनाहकमा दुःख दिने रवैयामा उत्रिएका तथ्यहरु बाहिर आउन थालेका छन् ।

यस्तै एउटा प्रकरण बाहिर आएको छ । वडा प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले सर्वसाधारणलाई दुःख दिने गरेको समाचार प्राप्त भएको छ । सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक जीवलाल चुदालीको निर्देशन र प्रत्यक्ष सहभागितामा आमजनता प्रताडित हुन थालेका छन् ।

सोमबार वीर्ता प्रहरी टोलीका घुमुवा बचुलाल यादव र एकजना असईले माईस्थान चौकबाट दिउसो २ बजे भन्सारबाट लिलाम सकार गरेका कपडा पक्राउ गरी वडा प्रहरी कार्यालय विर्ता बुझाएका थिए ।

कपडाधनीले कपडा भन्सारवाट लिलाम सकार गरेको कागजातहरु हेराउदा पनि प्रहरीले बलजर्बजस्ती कपडालाई वडा प्रहरी कार्यालय विर्ता बुझाएका थिए ।

वीरगन्ज भन्सार कार्यालयबाट मुस्तुफा अन्सारीले २०७३/४/२४ गते कपडालगायत विभिन्न खाले ५० आईटमभन्दा घरायसी प्रयोगका सामानहरु लिलाम सकार गरेका थिए । लिलाम सकार गरी लिएका सामान बिक्रीका लागि लैजाँदा प्रहरीले समातेको अन्सारीले बताए ।

कपडा छुटाउन आफू पुनः कागजपत्र लिएर वडा प्रहरी कार्यालय विर्ता पुग्दा पनि प्रहरी निरीक्षक जीवलाल चुदालीले सक्कल काजगपत्र कब्जामा लिएर मालसामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइदिएको उनले बताए ।

आफूले भन्सारबाट लिलाम सकार गरेर लिएको सामानको कागजपत्र देखाउँदा पनि समातेको मालसामान दुःख दिने नियतले अनुसन्धानका लागि पठाइएको गुनासो पीडित व्यवसायीको छ ।

प्रहरीले मालसामान समातेपछि मालसामान छोड्न आग्रह गर्दा प्रहरी निरीक्षक चुदालीले दिपावली, छठ खर्चको व्यवस्था गर्न भनेको तर, आफ्नो सामान जायज भएकाले खर्च दिन अस्वीकार गरेपछि राजश्वमा चलान गरिएिको अन्सारीले बताए । सामान समात्नेवित्तकै पनि प्रहरीले रकम माग गरेको उनले गुनासो गरे ।

अन्सारीले भन्सारबाट लिलाम सकार गरेकामध्ये माइस्थानचोकका एक व्यवसायीलाई बिक्रीका लागि लैजान लागेको ३ सय मीटर पाइण्टको कपडा प्रहरीले समातेको थियो ।

सो सम्बन्धमा प्रहरी निरीक्षक चुदालीसित सोध्दा उनले आफूले समातिएको मालसामान अनुसन्धानका लागि पठाइएको बताए । ‘हामीले अनुसन्धानका लागि पठाएको हो, काजगपत्र भए अनुसन्धानबाट छुटाएर ल्याए भइहाल्यो नि,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.