
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १ कार्तिक । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रुपन्देहीको नवौं वार्षिक साधारणसभा भैरहवामा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सुदिप गंगोलको अध्यक्षता, नेपाल बार एशोशिएसनका केन्द्रीय पार्षद एवं संस्थाका कानूनी सल्लाहकार दीलिप कुमार मल्लिकको प्रमुख आतिथ्यता र सहकारीका लेखापरीक्षक लक्षमण पौडेलको विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मल्लिकले वि.सं.२०६४ सालमा २५ जना युवाद्धारा सञ्चालनमा आएको यस सहकारीले बचत गर्ने बानीको विकासका साथै सहकारीमा आधुनिकता ल्याएर उल्लेखनीय योगदान गरेको चर्चा गर्दै सानो सानो बचतले पनि भविष्यमा ठूलो सहयोग गर्ने भएकोले सबैलाई बचत गर्न आग्रह गरे ।
त्यस्तैगरी, विशिष्ट अतिथि पौडेलले सहकारीको ऐन, नियम र परिधि भित्र रहेर छोटो समयमा अदभुत सफलता हात पारेको बताउँदै सबैले ऐच्छिक बचत मात्र नभएर नियमित बचत गर्नुपर्ने कुरामा जोड दिए ।
सहकारीका उपाध्यक्ष अब्दुल रसीद पठानको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष सुदिप गंगोलले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सहकारीको सचिव धिरज कुमार मल्लिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखा समिति सदस्य, ऋण समिति सदस्य लगायतको उपस्थिती रहेको थियो ।
त्यसै गरी संस्थाले यस वर्ष देखि शेयर सदस्यको भविष्य सुनिश्चिताको लागि जीवन बीमा योजना सार्वजनिक गरेको छ जसमा ५० प्रतिशत सदस्य स्वंयले व्योहोर्ने र ५० प्रतिशत सहकारीले व्योहोर्ने सचिव धिरज कुमार मल्लिकले जानकारी दिए ।



