janakpur-dashain
जनकपुरस्थित राजदेवी मन्दिर परिसरमा निर्माण गरिएको वैष्णोदेवी गुफा । तस्बिर : हुलाकी न्यूज

हुलाकी न्यूज, जनकपुरधाम । धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा यस वर्ष विशेष तामझामका साथ दशैं उत्सव मनाइँदै छ ।

जनकपुर दशैंको मुख्य आस्थाको केन्द्र राजदेवी मन्दिरको जीर्ण अवस्थालाई यसै वर्ष झण्डै डेढ करोड लगानी गरेर अत्याधुनिक डिजाइनमा मार्वल र टायल्स जडान गरिएको छ । राज्यको शून्य लगानी रहेको यो मन्दिरप्रतिको आस्थाकै भरमा स्थानीयले स्वःस्फूर्त रुपमा दिएको दान र चन्दाबाट संकलित रकमले यो काम पुरा भएको महावीर यूवा कमिटीका अध्यक्ष धर्मेन्द्र साहले जनाए ।

मन्दिरको आधुनिक स्वरुपमा जीर्णोद्धार गरिएपछि सौन्दर्यीकरणको कारण पहिलेदेखि चर्चामा रहेकोमा मन्दिर परिसरमै वैष्णोदेवी गुफाको निर्माणले यसपालीको दशैं थप आकर्षको केन्द्र बनेको हो । गुफा हेर्नकै लागि पनि भारत बिहारका अधिकांस क्षेत्रसँगै नेपालका दर्जनौ जिल्लाबाट उल्लेख्य संख्यामा दर्शनार्थीहरु आइरहेको राजदेवी मन्दिरको संरक्षक महावीर यूवा कमिटीका अध्यक्ष साहले बताए ।
यी बाहेक घटस्थापनादेखि नै हरेक साँझ राजदेवी मन्दिर परिसरमा हुने भजन सँध्याले पनि जनकपुर दशैंको शोभा बढाएको राम यूवा कमिटीका पूर्व अध्यक्ष जितेन्द्रप्रसाद साहले जनाए । भारत कलकत्ताबाट आएको साँस्कृतिक टोलीले आयोजना गर्ने भजन सँध्याले धार्मिक आस्थासँगै जनकपुर दशैंको रौनक पनि बढेको उनको दावी छ ।

दशैं अवधीमा घटस्थापनादेखि अष्ठमीसम्म लाग्ने सस्तो बजारले पनि यो ठाउँका दशैंलाई आकर्षित गरेको छ । खाद्यान्न, भाँडावर्तन, साबुन, अगरबत्ती लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध हुने यो बजारमा छिमेकी जिल्लाका ग्रामिण क्षेत्रका समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको बजार व्यवस्थापन मूल समितिका सदस्य सचिव एंव जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले बताए ।

त्यस्तै, करिब डेढ सयको संख्यामा रहेका यूवा क्लव तथा समूहहरुले छुट्टाछुट्टै रुपले आयोजना गर्ने दशैं पूजाले पनि सर्वसधारणको आकर्षण बढाएको स्थानीयको भनाई छ ।

‘डेढ सय मध्ये झण्डै ५० भन्दा बढी यूवा क्लवले नगरको विभिन्न चोकमा पण्डाल सजाएर दुर्गा पूजा आयोजना गरिरहेका छन्’ महावीर युवा कमिटीका अध्यक्ष साहले भने, ‘यी उत्सव र पूजास्थलको रौनकताले जनकपुरको दशैंप्रति भारतको बिहार र नेपालका विभिन्न जिल्लावासीलाई आकर्ष गरिरहेको छ ।’

प्राचिन मिथिलाको राजधानी र भौतिक रुपमा भव्य जानकी मन्दिरको कारण धार्मिक पहिचान बनाएको जनकपुरलाई पछिल्लो समय विशेष दशैंको नामले थप उचाई दिलाउने साहको दावी छ । उनले दशैंकै नामले पनि जनकपुरको व्यापार र धार्मिक पर्यटक आकर्षित गर्ने भरपर्दो आधार बनाउन सकिने बताउँदै यसका लागि राज्यको तर्फबाट आवश्यक सहयोगको अपेक्षा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.