
हुलाकी न्यूज, कलैया २० असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वर्तमान सरकारले ठगेको आरोप तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले लगाएका छन् ।
महामन्त्री सोनलले मधेशी मोर्चासँग भएको तीन बुँदे सहमतिलाई सरकारले कार्यन्वयन नगरेको भन्दै मोर्चा ठगिएको बताए ।
विजया दशमीको उपलक्ष्यमा बाराको रामपुर टोकनीमा विहीबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सोनलले सरकार गठनका बेला मोर्चासंग भएको तीन बुदे सहमति कार्यान्वयनका लागि सरकार इमान्दार नरहेको बताए ।
मधेशको मुद्दामा अहिलेका प्रधानमन्त्री प्रचण्ड पनि पूर्वप्रधामन्त्री केपी ओलीकै बाटोमा हिडेको बताउँदै महामन्त्री सोनलले भने,‘मधेशका एजेण्डको सवालमा प्रचण्ड पनि ओलीकै लाइनमा हिडेका छन्, यसले नतिजा सुखद ल्याउने छैन । यो सरकारको हालत पनि अघिल्लो सरकार जस्तै हुनेछ । सरकारको कामकारवाहीले मधेशी मोर्चा सन्तुष्ट छैन ।’
मधेशको माग सम्बोधनका लागि छठसम्मको समयसीमा मोचाले दिएको भन्दै उनले छठसम्म पनि संविधान संशोधन मार्फत मधेशको माग पुरा नभए मोर्चा आन्दोलनमा जाने बताए ।
‘मधेशको मुक्ति काँग्रेस–एमाले र माओवादीबाट सम्भव छैन, जे जस्तो भएपनि मधेशी दलले नै मधेशीलाई अधिकार सम्पन्न बनाउँछन्, सोनलले भने ।




सोनल ज्यू, राजनीति मा कसै ले कसैलाई ठग्यो भन्ने कुरो सुहाएन के। किनकी राजनीतिमा केहि पनि हुन सक्छ।मुख्य कूरो के हो भने यदि सक्षम नेता भयो भने त्यसलाई कसैले पनि ठग्न सक्दैन। यो ठग्ने कूरो कुनै नयाँ होइन। सनातन. देखी नै पहाड़ी शासक हरू बाट नै मधेशीहरू ठगिदै आएका छन् तर मधेशमा आधा जन्सँख्या भएको बावजूद पनि मधेशीहरू आफ्नो हकका लागि तर्सिरहेका छन्। यो त पक्का हो कि मधेशको माग यसपटक पनि पूरा हुदैन, हेरौँ अब मधेशी नेताहरूले के गर्छन् ।