
रविन्द्र यादव, नवलपरासी १९ असोज । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतर्कता योजना लागू गरेको छ । बडादशैं, दीपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो ।
नवलपरासीको सम्पूर्ण बजार क्षेत्र गाउँटोल, जंगल क्षेत्र, नेपाल–भारत नाकाहरुमा पर्याप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताएका छन् ।
ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालीन गस्तीसमेत दिइरहेको एसपी चौधरीले जानकारी दिए । नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढ्दै गइरहेको गुनासो बढेपछि रात्रिकालीन प्रहरी गस्ती बढाइएको बुझिएको छ ।
चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झैझगडा लगायतका घटनाहरु हुन नदिन जिल्लाभरिका सबै प्रहरीचौकी, इलाका र बिट युनिटलाई सतर्कताका साथ काम गर्न निर्देशन दिइसकेको उनले बताए ।
एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिवेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सीमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ ।
चाडपर्वमा नवलपरासीमा मदिरा बिक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवा तास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताए । उनले जिल्लाको कुनै पनि ठाउँमा कुनै केही किसिमको अपराधिक तथा सामाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना घटन न दिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गरेका छन् ।



