
हुलाकी न्यूज, बेल्जियम १७ असोज । यूरोप भ्रमणमा रहेका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संविधान संशोधन प्रक्रियामा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैअघि नै संशोधन प्रस्ताव दर्ता हुने सार्वजनिक प्रतिबद्धता जनाएको अवस्थामा पनि संशोधन प्रस्ताव दर्ता नभएकोमा उनले चिन्ता जाहेर गरेका हुन् ।
संविधानलाई दीर्घकालीन ढंगले सर्वस्वीकार्य बनाउन संविधान संशोधनको विकल्प नभएको यादवले दोहर्याए । ‘संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, खÞस, मुश्लिम, थारू, दलित, महिला, लगायत राज्यद्धारा बहिष्करणमा पारिएका सम्पूर्ण समुदायहरूको मुद्दालाई सम्बोधन गरिनु पर्दछ’– उनले भने ।
प्रवासमा रहेका नेपालीहरुको आधुनिक ज्ञान, सीप र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिएका छन् । विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले देखे र भोगेका अनुभव स्वदेशका लागि उपयोगी हुनेमा जोड दिँदै यादवले आधुनिक विश्वले दिएको सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न प्रवासी नेपाली र नेपाल सरकार दुवैलाई सुझाव दिएका हुन् ।
फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेल्जियमले ब्रसेल्समा आयोजना गरेको ‘नेपालको वर्तमान राजनीतिक अवस्था, चुनौति र सम्भावना’ बिषयक बृहत् अन्तरक्रियालाई प्रमुख अतिथिको हैसियतले फोरम नेपालका अध्यक्ष यादवले सम्बोधन गरेका छन् ।
पूला शेर्पाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमलाई सम्बोेधन गर्दै यादवले भने,– ‘नेपालमा लगानीको उचित वातावरण बन्ने हो भने प्रवासी नेपाली समाजबाट स्वदेशलाई धेरै लाभ हुन सक्छ । भ्रष्टाचार, कमिशनयन्त्र, लूटतन्त्रलाई नियन्त्रण गरी जलस्रोत, पर्यटन, कृषि र मानवीय साधन र शक्तिको विकास गरी प्रवासी नेपालीहरूको सीप र क्षमतालाई मुलुकमा लगानी गरी विकास गन सकिन्छ ।’
अन्तरक्रियामा बेल्जियमस्थित विशिष्ट अतिथि नेपाली दूतावासका कार्यवाहक राजदूत घनश्याम भण्डारी, विभिन्न वैचारिक राजनीतिक, जातिय पहिचान, वर्गीय, क्षेत्रिय संघ संगठनको अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।



