
हुलाकी न्यूज, काठमाडौं १६ असोज । दशैंमा काठमाडौंबाट जनकपुरधाम जाने अधिकांश यात्रुहरु ठगिदैछन् । यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादरभन्दा बढी भाडा लिएर यातायात व्यवासीयहरुले ठगेका छन् ।
काठमाडौंबाट धुलिखेल हुँदै बर्दिवास–जनकपुरधाम जाने टाटासुमो तथा माईक्रोबसहरुले यात्रुहरुसँग तोकिएको भाडाभन्दा बढी पैसा लिदैछन् ।
काठमाडौंबाट जनकपुरधाम जाने काबेली यातायात सेवा र जानकी यातायातलगायतका गाडीहरुले तोकिएको भन्दा बढी भाडा लिदैछन् । यातायात व्यवस्था विभागले काठमाडौंदेखि जनकपुरसम्मको ५ सय ७० भाडा निर्धारण गरे पनि यातायात व्यवासायीहरुले ७ सय भाडा लिने गरेका छन् ।
यात्रुसँग बढी भाडा लिएको कावेली यातायात सेवाको ८९५४ नम्बरको गाडी कारवाहीमा परेको छ । काठमाडौंबाट जनकपुरका लागि विहान ७ बजे छुटेको गाडी विहान ९ बजे भक्तपुरको जगाती चेक पोइन्टमा कारवाहीमा परेको हो । सबै यात्रुसँग ७ सय भाडा उठाएको यातायातले कारवाहीमा परेपछि यात्रुहरुसँग लिएको बढी रकम फिर्ता गरेको छ भने एक हजार रुपौंया जरिवानासमेत तिरेको छ ।
महानगरीय प्रहरी काठमाडौका एसपी प्रधुमन कार्कीले हुलाकी न्यूजसँग कुराकानी गर्दै यातायात व्यवसायीहरुले ठगी गरेको पाइए तत्कालै कारवाही गरेर यात्रुको पैसा फिर्ता दिलाउने बताए । कार्कीले आफुलाई तत्कालै 9851280322 मा सम्पर्क गर्न यात्रुहरुसँग आग्रह गरे ।
त्यस्तै काठमाडौंबाट जनकपुर जाने यात्रुहरुसँग बढी पैसा लिएको पाइए जगाती प्रहरीलाई ९८५१२८३०२८ मा सम्पर्क गर्न सक्नेछन् ।



