
हुलाकी न्यूज, जनकपुरधाम १५ असोज । मधेशमा आजबाट झिझिया अर्थात तान्त्रिक नाच सुरु हुँदैछ । दशमीको घटस्थापना दिनबाटै सुरु हुने झिझिया मधेशका विभिन्न गाउँहरुमा नकारात्मक शक्तिहरुलाई परास्त गर्न खेलिन्छ ।
त्रिभुवन विश्व विद्यालय मैथिली विभागका प्रमुख परमेश्वर कापैडले हुलाकी न्यूजसँग कुराकानी गर्दै दशैको समयमा तन्त्र शक्तिहरु जागरुक हुने गरेकोले नकारात्मक शक्तिलाई परास्त गर्न झिझिया खेलिने गरेको बताए ।
भूतप्रेत, बोक्सी र तान्त्रिकको मन्त्र साधनाबाट बच्न ग्रामीण क्षेत्रका महिलाहरु नौ दिन साँझ राति झिझिया नाच गर्ने गरेका छन् । महिलाहरुले सानो प्वाल भएको माटाको घैँटामा दियो बालेर टाउकामा राखी ‘सबके दुअरिया झिझिया चमचम करेहु, बाताके दुअरिया अनहा कुपवेहो’ बोलको झिझिया गीत गाउँदै नाच्दै टोल टोलमा घुम्ने गर्छ ।
पछिल्लो समय झिझिया नाच लोप हुँदै गएको छ । महिलाहरु आ–आफ्नो काममा व्यक्त हुने गरेकोले झिझिया नाचमा थेरै महिलाहरु सहभागी हुने गरेका छन् । मधेशका अधिकांश गाउँमा दलित महिलाहरु अहिले पनि झिझियाप्रति आकर्षित भएर परम्परालाई कायम राखेका छन् ।



