
हुलाकी न्यूज, लण्डन १२ असोज । नेपालको संविधानमा रहेका त्रुटिपूर्ण प्रावधानहरु हटाउन बेलायत सरकारले आग्रह गरेको छ ।
बुधबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको भेटवार्तामा बेलायत सरकारको दक्षिण एशिया र अफगानिस्तान तथा पाकिस्तान सम्बन्धी मामिला हेर्ने विशेष प्रतिनिधिहरुले नेपालको शान्ति र विकासका लागि संविधान संशोधनको विकल्प नभएको सुझाव दिएका हुन् ।
सो भेटवार्तामा बेलायत सरकारले आन्दोलनरत उत्पीडित समुदायलाई समेटेर सर्वस्वीकार्य हुनेगरी संविधान संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको हो ।
बेलायत सरकार पनि सार्थक संविधान संशोधनको पक्षमा रहेको सन्देश दिँदै मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले अघि सारेको माग अनुसार संशोधन गरी संविधानमा सबैको अपनत्व हुनेगरी त्रुटिपूर्ण प्रावधान हटाउन बेलायतले आग्रह गरेको हो ।
लण्डनको विदेश मन्त्रालयमा बुधबार फोरम नेपालका अध्यक्ष यादव र बेलायत सरकारको दक्षिण एशिया र अफगानिस्तान तथा पाकिस्तान सम्बंधी मामिला हेर्ने विशेष प्रतिनिधि अवेन जेन्किंसबीच भेटवार्ता भएको छ । सो अवसारमा नेपाल, भूटान र भारत मामिला हेर्ने क्याथी बास्साको पनि विशेष उपस्थिति रहेको थियो ।



