
हुलाकी न्यूज, काठमाडौं ११ असोज । कृषिमन्त्री गौरीशंकर चौधरीले प्रदेशको सीमांकन विवाद सहमतिबाटै टुंगो लाग्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले सीमांकन विवादलाई दलहरुबीचको सहमतिबाटै टुंगो लगाउन सकिने बताएका छन् ।
उनले प्रदेशको सिमांकन गर्दा कैलाली–कञ्चनपुरलाई थारुवान प्रदेशमै राख्नुपर्ने धारणा राखेका छन् । उनले कैलाली–कञ्चनपुर थारुवान प्रदेशमै हुनुपर्ने आफ्नो पार्टीको अडान भएकोले सोही बमोजिम हुनुपर्ने जिकिर गरे ।
मन्त्री चौधरीले संविधान संशोधनबारे शीर्ष तहमा छलफल भैरहेको बताएका छन् । उनले अघि भने,‘संविधान संशोधनबारे अहिले प्रमुख राजनीतिक दलहरुवीच शीर्ष तहमा छलफल जारी छ, प्रधानमन्त्री स्वयम पनि गम्भिर भएर लाग्नुभएको छ ।’
संशोधनबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि वार्ता तथा छलफल भैरहेको उनको भनाई थियो । मन्त्री चौधरीले थपे,‘संशोधनबारे मैले सकारात्मक पाएको छु, मलाई लाग्छ, यसले चाँडै एउटा निष्कर्ष लिन्छ ।’



