
हुलाकी न्यूज, काठमाडौं ११ असोज । असोज ३ गते मधेशका जिल्लाहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले संयुक्तरुपमा कालो दिवस मनाएका थिए ।
तर, काठमाडौंमा मोर्चा र गठबन्धनका नेताहरुले छुट्टाछुट्टै कालो दिवस मनाए । सोमबार बसेको मधेशी मोर्चाको बैठकमा कालो दिवसका दिन भएको छुट्टा छुट्टै कालो दिवसको बारेमा चर्चा भएको छ ।
तमलोपा र सद्भावना पार्टीले नेतृत्व गर्दै माइतीघर मण्डलामा कालो दिवस मनाएका थिए भने उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा कालो दिवस मनाएका थिए ।
तत्पश्चात मोर्चाका दोस्रा तहका नेताहरुले संघीय गठबन्धनबाट मोर्चा अलग भएको आरोप लगाउँदै उपेन्द्र यादवको आलोचना गरेका थिए ।
तर, संघीय समाजवादी फोरमका नेताहरुले मोर्चाका नेताहरुले आफूहरुसँग सहकार्य नगरेको आरोप लगाएका थिए । काठमाडौंमा भएको उक्त छुट्टा छुट्टै कार्यक्रमप्रति जिल्लास्तरका नेताहरुले पनि संघीय गठबन्धनप्रति आक्रोश व्यक्त गरेका थिए ।
सोही विषयमा सोमबार मोर्चाको बैठकमा छलफल भएको थियो । उक्त बैठकमा मोर्चा र गठबन्धनका नेताहरुले उनै फोरमका नेताहरुले ‘मिस कम्युनिकेशन’ भएको जवाफ दिएका थिए ।
तमलोपाका केही नेताहरु फोरमप्रति आक्रमक देखिएपनि अन्तिममा दुवै पक्षले ‘मिस कम्युनिकेशन’ भएको भन्दै विवादबाट पन्छिएका थिए ।
सोमबारको बैठकमा उत्पन्न यससम्बन्धी विवादबाट ‘मिस कम्युनिकेशन’ भनेर मोर्चाका नेताहरु पन्छिए पनि मोर्चाभित्र उपेन्द्र यादव एक्लिएका छन् भने फोरम नेपालसँग एकता गर्न गृहकार्य गरिरहेको राष्ट्रिय मधेश समाजवादी पार्टीनिकट छन् ।
यता, तमलोपा र सद्भावना पार्टीको एलायन्समा मोर्चाका बाँकी घटकहरु छन् । अर्थात् मोर्चाभित्र संघीय गठबन्धनका विषयमा हालसम्म असन्तुष्टिहरु कायमै रहेको छ ।
तमलोपाका महामन्त्री वृजेश गुप्ताले संघीय गठबन्धन र मोर्चामा भिन्नता देखिएपनि मिलेर जानुको विकल्प नरहेको बताउँछन् ।



