madheshi morcha
हुलाकी न्यूज, काठमाडौं १० असोज । स्थानीय तह निर्धारण आयोगको काम तथा तीन दलबीच स्थानीय तह निर्धारणको विषयमा भएको सैद्धान्तिक सहमतिप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असहमति जनाएको छ ।

आयोगले निर्धारण गर्न लागेको स्थानीय तह समान जनसंख्याको आधारमा नभएको तथा मधेशीलाई अल्पमतमा पार्ने गरी निर्धारण भइरहेको मोर्चाले आरोप लगाएको छ ।

स्थानीय तह निर्धारणमा तीन दलबीच सैद्धान्तिक सहमति भएपनि असन्तुष्ट पक्ष मधेशी मोर्चाले तीन दलको सहमतिलाई अमान्य बताएको छ । तीन दलले मधेशी मोर्चासँग छलफल नै नगरी सहमति गरेको तथा माग बमोजिम नभएको भन्दै अमान्य भएको जनाएको छ ।
समान जनसंख्याको आधारमा स्थानीय तह निर्धारण गर्नु पर्ने मधेशी मोर्चाले अडान राख्दै आएको छ ।

राजधानीस्थित तराई–मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा सोमबार बसेको मोर्चाको बैठकले तीन दलको सहमतिलाई अस्वीकार गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका नेता मो.लालबाबु राउत ‘गदी’ले संविधान संशोधनका विषयमा चलेको चर्चा आफूहरुको माग समेट्ने गरी नरहेको बताए ।

उनले मोर्चाको बैठकमा सत्तारुढ दलहरुसँग भएको तीनबुँदे सहमति कार्यन्वयनका विषयमा छलफल भएको बताउँदै संशोधनका विषयमा मिडियामार्फत आएका कुुराहरुमाथि मोर्चाको असहमति रहेको निर्क्यौल निकालिएको छ ।

प्रदेशको विवाद आयोगलाई जिम्मा दिने विषयमा मोर्चाको असहमति रहेको फोरम नेता राउतले बताए ।
यता, मधेशी मोर्चाका शीर्ष नेताहरुले तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्री तथा सत्ता साझेदार दलहरुसँग छलफल गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्रीलाई भेटी मोर्चाका नेताहरुले सहमति कार्यान्वयनको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ ।

बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, फोरम नेपालका नेता मो. लालबाबु राउत गद्दी, सद्भावनाका नेता लक्ष्मण लाल कर्ण, मनिष सुमन, तमलोपाका नेताहरु हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, जितेन्द्र सोनल, तमसपाका वरिष्ठ नेता रामनरेश राय र रामसपाका केशव झासहित नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.