mpl
हुलाकी न्यूज, राजविराज, १० असोज ।
मधेशमा व्यवसायिक क्रिकेटलाई स्थान दिन सुरु भएको मधेश प्रिमियर लिग(एमपीएल) दोस्रो सिजनको तयारी अन्तिम चरणमा पुगेको छ ।

यस पटक ‘हम किसी से कम नही’ मूल नाराकासाथ जनकपुर र राजविराजमा एक साथै एमपीएलका खेलहरु हुनेछन् । एमपिएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी तीब्र रुपमा भईरहेको र अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

मधेशी इन्जिनियर स्टुडेन्ट यूनियनको आयोजना तथा विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)को सहयोगमा कार्तिक २ गतेदेखि एमपीएलका खेलहरु सुरु हुनेछ । मधेशका प्रमुख दुई शहरमा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीब्र रुपमा भईरहेको आयोजक युनियनका संयोजक सञ्जीवनारायण यादवले जानकारी दिएका छन् ।

उनका अनुसार खेलको शुभारम्भ जनकपुरबाट तथा फाइनल खेल राजविराजमा हुनेछ । एमपीएल टुर्नामेन्ट प्रतियोगितामा मधेशका सप्तरी, सिरहा, महोत्तरी, धनुषा, मोरङ्ग, सुनसरी, नवलपरासी, सर्लाहीलगायतका जिल्लाहरुबाट चर्चित टिमहरुको सहभागिता रहने सचिव तीर्थनारायण दासले जानकारी दिएका छन् । एमपिएलको लोगोसहितको भेस्टसमेत हालै सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख एक हजार, उप विजेता टिमलाई रु ५१ हजार, म्यान अफ द सिरिजलाई एलइडी टेलिभिजन, बेस्ट बलर र व्याटसम्यानलाई साइकल प्रदान गरिने जनाईएको छ । प्रतियोगितालाई सफल पार्न आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैपक्षसँग मधेशी इन्जिनियर स्टुडेन्ट यूनियनले आग्रह गरेको छ ।

मधेशमा खेलाडी उत्पादन तथा व्यवसायीक खेलाडी तयार गर्ने र अन्तर्राष्ट्रिय जगतमा मधेश टिमबाट सहभागी गराईने लक्ष्यकासाथ प्रतियोगिता आयोजना गरिने उनले बताए । यसअघि एमपीएलको पहिलो संस्करण राजविराजस्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.