
हुलाकी न्यूज, काठमाडौं ९ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संविधान संशोधनका लागि नेकपा एमाले तयार नभए एमालेबिनै दुई तिहाई जुटाउने तयारी गर्ने बताएका छन् ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा महामन्त्री सोनलले भने, ‘संविधान संशोधनमा दुई तिहाई आवश्यक हो, तर लाख कोशिस गर्दा पनि एमाले र यसका अध्यक्ष केपी ओली मान्नुभएन भने हामी एमालेविना नै दुई तिहाई जुटाउने तयारी गर्छौं, त्यसको लागि हामीले राप्रपा नेपालसँगको कुरा अघि बढाउनुपर्नेहुन्छ, हामी तयारी अवस्थामा छौं ।’
मधेशी मोर्चाको एक मात्रै माग भनेको संविधान संशोधनमार्फत आफ्ना मुद्दाको सम्बोधन हुनु रहेको भन्दै महासचिव सोनलले त्यसको लागि प्रमुख राजनीतिक दलहरु तयार हुनुपर्ने जिकिर गरे ।
त्यस्तै उनले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन नभए अहिलेको संविधानको हालत पनि ०४७ सालको संविधानको जस्तै हुने चेतावनी दिए ।
उनले अघि थपे,‘हिजो ०४७ सालको संविधानलाई पनि दुनियाँकै सबैभन्दा उत्कृष्ट भनिएको थियो, तर आज त्यसको हालत के भयो रु’ उनले संविधान संशोधनबाट मधेशी मोर्चा लगायतको माग तत्काल पूरा गर्ने वातावरण बनाउन सबै दलहरु गम्भिर भएर लाग्नुपर्ने बताए । – रिपोर्टर्स नेपालबाट



