
हुलाकी न्यूज, लण्डन ९ असोज । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरुले दोहोरो नागरिकता पाउनु पर्ने बताएका छन् ।
नेपालको नयाँ संविधानमा पूर्व गोर्खा सैनिकको लागि नागरिकताको प्रावधान नभएकोप्रति टिप्पणी गर्दै यादवले उनीहरुलाई नेपाली नागरिकता दिइनु पर्ने बताए ।
यूरोप भ्रमणमा रहेका यादवले पूर्व गोर्खा सैनिकले समान पेन्सन पनि पाउनु पर्ने आवाज उठाएको कार्यक्रममा सहभागी नेफेसो लण्डनका महासचिव विश्वदीप तिलेगाले जनाएका छन् ।
लण्डनको अल्डरसुटमा शनिबार गोर्खा पूर्व सैनिक संघको वार्षिक भेलालाई सम्बोधन गर्दै दोहोरो नागरिकता र समान पेन्सनको व्यवस्था हुनु पर्ने बताएका हुन् ।
‘पूर्व गोर्खा सैनिकहरू विशेष कूटनैतिक सम्बन्धका कारण यूकेमा रहेकाले गोर्खाहरूले दोहोरो नागरिकता पाउनु पर्छ’– कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने,– ‘गोर्खा सैनिकहरुमाथि विभेद हुनु हुँदैन, उनीहरुले अरु सरह नै समान पेन्सन र सुविंधा प्राप्त गर्नुपर्छ ।’
नेपाल आदिवासी जनजाति महासंघ यूकेले शनिबार नै फोरम नेपालका अध्यक्ष यादव र प्रवास विभाग प्रमुख आङकाजी शेर्पाको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको प्रवास भ्रातृ संगठन नेपाली संघीय समाज बेलायतको निमन्त्रणामा असोज ६ गते अध्यक्ष यादव र शेर्पा लण्डन पुगेका छन् ।



