
हुलाकी न्यूज, काठमाडौं ८ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको आक्रमणबारे सरकारले बेवास्ता गरेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
शुक्रबार तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा गृहमन्त्री निधिलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । गत भाद्र २४ गते बेलुकी ७ः३० बजे तमलोपा अध्यक्ष ठाकुरकी छोरी डा. मिनाक्षी झामाथि सांघातिक आक्रमण भएको थियो ।
‘घटनाको १४ दिन बितिसक्दा समेत अपराधीलाई कानूनको घेरामा ल्याउनु त परै जावोस्, अपराध र अपराधीबारे तथ्य पनि सार्वजनिक हुन सकेको छैन । यसले कानून र व्यवस्थाको प्रभावकारिता र सरकारको गम्भीरतामाथि शंका उत्पन्न गरेको छ’ ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन-पत्र
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्यू २०७३ आश्विन ६
गृह मन्त्रालय, सिंहदरबार
काठमान्डौ ।
विषय : ज्ञापन-पत्र ।
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री ज्यू,
तराई(मधेश लोकतान्त्रिक पार्टी का अध्यक्ष श्री महन्थ ठाकुरज्यूको निवासमा २०७३ भाद्र २४ गते बेलुका ७स्३० बजे वहाँकी छोरी डा. मिनाक्षी झामाथि भएको सांघातिक आक्रमणको घटनाबारे यहाँलाई समेत अवगत नै छ । देशको एक मुख्य राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्ष र प्रमुख राजनीतिक व्यक्तित्वहरु मध्ये एक श्री ठाकुरको निवासमा सँसाँझै भएको यस्तो प्रकारको घटना निश्चय नै महत्त्वपूर्ण व्यक्तिहरुको सुरक्षा प्रबन्ध र सामान्य जनताको शान्तिसुरक्षाको अवस्थाबारे प्रश्न चिन्ह खडा गरेको छ ।
यस अवस्थाप्रति तराई(मधेश लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । श्री ठाकुरको निवासमा वहाँकी छोरी डा। मिनाक्षी झामाथि धारिलो हतियारले गरिएको आक्रमणलाई हामी मधेशी, थारु, आदिवासी(जनजाति, मुस्लिम, दलित, आदि सिमान्कृत र विभेदमा बाँच्न बाध्य समुदायको नैसर्गिक अधिकारका निमित्त संघर्षरत नेतृत्त्वमाथि असहिष्णुहरुद्वारा असामाजिक तत्त्वहरुको प्रयोगको थालनी भएको रुपमा लिने स्थिति सृजना भएको महशूस गरेका छौं । तराई(मधेश लोकतान्त्रिक पार्टी यस्तो कुकृत्य र आपराधिक मानसिकताको घोर भर्त्सना गर्दछ ।
घटनाको आज १४ दिन बितिसक्दा समेत अपराधीलाई कानूनको घेरामा ल्याउनु त परै जावोस्, अपराध र अपराधीबारे तथ्य पनि सार्वजनिक हुन सकेको छैन । यसले कानून र व्यवस्थाको प्रभावकारिता र सरकारको गम्भीरतामाथि शंका उत्पन्न गरेको छ ।
पार्टी शिघ्रातिशिघ्र आपराधीहरुको पत्ता लगाई कडाकारबाही र दण्डित गर्न मांग गर्दछ ।
………………
हृदयेश त्रिपाठी
वरिष्ठ उपाध्यक्ष
तराई(मधेश लोकतान्त्रिक पार्टी



