
हुलाकी न्यूज, लण्डन(इग्ल्याड) ७ असोज । नेपाली संविधान दिवसको विरोधमा असोज तीन गते ‘कालो दिन’ मनाउँदै गरेका मधेशीहरुमाथि नेपाली दुतावास लण्डनका कर्मचारीहरुले कुटपिट गरेका छन् ।
संविधान दिवसको अवसरमा लण्डनस्थित नेपाली दुतावासको अगाडि मधेशीहरुले कालो दिन मनाउँदै प्रदर्शन गर्न गएका थिए । ‘असोज तीन कालो दिन’ लेखिएको ब्यानर बोकेर दुतावासभित्र प्रवेश गर्न लागेका मधेशीहरुलाई ढोका मै रोकिएको थियो ।
दुतावासको अगाडि पट्टीको सडकमा ब्यानर लिएर उभिएका मधेशीहरुमाथि एक्कासी दुतावासभित्रबाट निसकेका कर्मचारीहरुको समूहले कुटपिट गरेका छन् ।
प्रदर्शनमा सहभागी पाण्डव महतोका अनुसार दुतावासका कर्मचारीहरुले कुटपिट गर्दै ब्यानर खोस्न थालेका थिए । प्रदर्शनमा सहभागी महतोसहित रमेश महतो, दिलिप महासेठलगायतका प्रदर्शनकारीमाथि कर्मचारीहरुले कुटपिट गरेका थिए ।
नेपाली दुतावासका कर्मचारीहरुले मधेशी प्रदर्शनकारीहरुमाथि कुटपिट गर्न थालेपछि प्रदर्शनकारीहरुले प्रहरीलाई बोलाएका थिए । प्रहरीहरुले घटनाको विवरण बुझि सकेका छन् ।
पाण्डव महतोका अनुसार मधेशी प्रदर्शनकारीहरुमाथि भएको कुटपिटको विरुद्धमा अदालत जाने तयारी हुँदैछ । हुलाकी न्यूजसँग कुराकानी गर्दै महतोले भने,‘डेमोक्रेटिक मुलुकमा हामीले हाम्रो माग राख्दा नेपाली दुतावासका कर्मचारीहरुले कुटपिट गर्नु कतिको जायज हो ? त्यसैले हामी दुतावासका विरुद्ध अदालत जाने निर्णय गरेका छौं ।’
महतोका अनुसार संविधानको विरोधमा प्रदर्शन गर्ने मधेशीहरुको संख्या कम भएकाले नेपाली दुतावासका कर्मचारीहरुले कुटपिट गरे । उनले संविधान दिवसको अवसरमा सोमबार प्रदर्शन गर्न जाँदा त्यहा मंगलबार संविधान दिवस मनाउने भनेर लेखिएको थियो । त्यसैले मंगलबार पुनः प्रदर्शन गर्न उनीहरु पुगेका थिए ।
महतोले यस्ता घटना पछि मधेशीहरुबीच सहकार्य नभएकोले घटनाहरु दोहरिन सक्ने बताए ।
कुटपिट गरेको भिडियो हुलाकी न्यूजसँग सुरक्षित छ ।




मुद्दा हालनु अत्यन्त जरूरी छ ।