
हुलाकी न्यूज, काठमाडौं ६ असोज । चिकित्सा अध्ययन संस्थान(आइओएम)ले समावेशी समानुपातिक लागु गरेको खण्डमा आइओएमसहितका आंगिक क्याम्पसहरुमा ४५ प्रतिशत विद्यार्थीले छात्रबृत्तिमा पढ्न पाउनेछन् । आइओएमको भर्ना प्रक्रिया समानुपातिक समावेशी हुन नदिन पदाधिकारी तथा केही राजनीतिक दलका कार्यकर्ताहरु सक्रिय भएर लागेका छन् ।
समानुपातिक समावेशी लागु भएको खण्डमा आइओएममा भर्ना हुने ४५ जना विद्यार्थीमा करिब २२ जनाले छात्रबृत्तिमा पढन पाउनेछन् । अर्थात मेडिकल पढ्न करिब ४० लाखभन्दा अधिक लाग्ने ठाउँमा मधेशी, आदिवासी जनजातिका २२ जना विद्यार्थीले करिब चार लाखमा पढ्न पाउनेछन् ।
उक्त समावेशी रोक्न आइओएम तथा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका डाक्टरहरु नै सक्रिय भएर लागेका छन् । समानुपातिक समावेशीका लागि लबी गर्दै आएका विद्यार्थीहरुलाई डराउने काम पनि ति प्राध्यापकहरुले गरेका छन् ।
यस वर्ष समानुपातिक समावेशी लागु हुन नदिई अदालतमा मुद्दा हालेको खण्डमा पुनः केही वर्षका लागि समानुपातिक समावेशी लागु हुने छैन । त्यसै मनसायमा केही व्यक्तिहरुले समावेशी लागु हुन नदिने पक्षमा छन् ।
आइओएमका प्राध्यापक डा.निरञ्जन साहसहितले सुरु गरेको आइओएममा समानुपातिक समावेशीको आन्दोलनमा मधेशी विद्यार्थी संगठनहरुले मुद्दालाई अदालतसम्म लगेका थिए । सोही मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै समानुपातिक समावेशी लागु गर्न आइओएमलाई आदेश दिएको थियो । विद्यार्थी संगठनहरु र आइओएमबीच सहमति पनि भएको थियो ।
तर पछिल्लो समय आइओएमले उक्त सहमतिको उलंघन गर्दै समानुपातिक समावेशी यस वर्ष लागु गर्न नसक्ने जनाएपछि विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त मधेशी विद्यार्थी मोर्चाले गर्दै आएको आन्दोलनमा बुधबारबाट गैरमधेशवादी पार्टीका विद्यार्थी संगठनहरुले पनि समर्थन जनाएका छन् । करिब १३ वटा विद्यार्थी संगठन संल्गन रहेको संयुक्त विद्यार्थी संगठनले विहीबारबाट आन्दोलनको नेतृत्व गर्ने तराई मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष मनिष मिश्राले बताए ।
मिश्रका अनुसार यसै शैक्षिक वर्षदेखि समानुपातिक समावेशी लागु नभएसम्म आन्दोलन जारी रहनेछ ।



