
हुलाकी न्यूज, रुपन्देही ५ असोज । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशको माग पूरा नभए छठपछि पुनः आन्दोलनको शंखनाथ हुने बताएका छन् ।
मधेश आन्दोलनका शहिदहरूको श्रद्धाञ्जली कार्यक्रम रुपन्देही जिल्लाको झुलनीपुरमा अध्यक्ष झाले मधेशीको पहिचान, पहूंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वमा समुचित हिस्सेदारी नदिइएसम्म आन्दोलन जारी रहने बताए ।
उनले प्रचण्ड नेतृत्वको सरकार संविधान संशोधन गरी मधेशीको माग सम्बोधन गर्ने सहमति र सम्झौता गरेकोले उनको सरकारलाई मोर्चाले समर्थन गरेको भन्दै दशैं, दिपावली र छठ पर्वसम्ममा माग पुरा नगरिए पुनः आन्दोलनको शंखनाद हुने भएकोले त्यसका लागि तैयार रहन आह्वानसमेत गरे ।
कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्यहरु केशवराम त्रिपाठी, लक्ष्मी नारायण गुप्ता, बरिष्ठ नेता मो अजÞीज, नागेन्द्र पाण्डेय, रंगनाथ गुप्ता, कपिलवस्तुका जिल्ला अध्यक्ष कालीपद शर्मा, सिद्धार्थ नगरपालिकाका अध्यक्ष अशोकलाल कर्ण, नेपाल महिला मंचकी जिल्ला अध्यक्ष जगमती गुप्ता, तमरा अभियान परित्याग गरी नेसपामा प्रवेश गर्नुभएका राजेश ठाकुर लगायतका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।



