aamaran-ansan-end
हुलाकी न्यूज, महोत्तरी ५ असोज । जनकपुर–भिठ्ठामोड सडक निर्माणका लागि विगत ९ दिनदेखि जारी रहेको आमरण अनसन तोडिएको छ । विभिन्न पाँच बुँदे माग राखी वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा चार जना आमरण अनसन बसेका थिए ।

गत भाद्र २८ गतेदेखि जनकपुर–जलेश्वर सडकखण्डको बीचमा पर्ने पिपराको बजारमा आमरण अनसन बसेका थिए । आदोलनकारीहरुका मागप्रति ध्यानकर्षण भएको र त्यसअनुरुप गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विज्ञप्ति जारी गरेपछि बुधबार आमरण अनसन तोडिएको हो ।

आमरण अनसनकारीहरुलाई पिपरा निवासी ९१ वर्षीय अनिरुद्र मिश्रले रेडबुल खुवाएर अनसन तोडाएका हुन् ।
मन्त्रालयले प्रेस विज्ञप्तिमा ‘जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्डमा अहिले बनाउन थालिएको चार लेनलाई निर्धारित समय अघि नै सम्पन्न गर्ने, सडक सञ्चालनका लागि दशै/तिहार/छठ अगाडि नै मर्मतसम्भार गर्ने र निर्माण कार्यको गुणस्तरलाई जनसहभागितामा अनुगमन गरिने’ उल्लेख गरिएको छ ।

अनसन बस्नेहरुमा नयाँ शक्तिका नेतासमेत रहेका रामकुमार शर्मा, नेकपा माओवादी केन्द्रका सत्येन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका रमणकुमार ठाकुर, स्वतन्त्र गठबन्धनका रञ्जितराज मधेशी र मिथिलेश्वर दास रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.