shradhanjali-sabha
हुलाकी न्यूज, काठमाडौं ४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले तराई–मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरुको सम्झनामा देशैभरि श्रद्धाञ्जली सभा गरेको छ ।

गठबन्धनको पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन दिनसम्म कालो दिवस मनाउने कार्यक्रममो अन्तिम दिन मधेश आन्दोलनका शहीदहरुको सम्मान र सम्झनाका लागि काठमाडौंको कलंकीमा मंगलबार श्रद्धाञ्जली सभा गरेको हो ।

संघीयता र पहिचान पक्षधर २८ दलीय संघीय गठबन्धनको आह्वानमा काठमाडौंसहित मधेश, पहाड र हिमाल लगायत देशैभर मधेश आन्दोलनका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको छ ।

गत भाद्र १९ गते संघीय गठबन्धनको बैठकले असोज ४ गते देशैभर मधेश आन्दोलनका शहीदहरुको सम्झनामा श्रद्धाञ्जली सभाहरु गर्ने निर्णय गरेको थियो ।

मधेश आन्दोलनका क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा करिब ६० जनाभन्दा बढी आन्दोलनकारीले ज्यान गुमाएका थिए । मधेशी मोर्चाले शहीद घोषणाका लागि ६८ जनाको नामावली सरकारलाई बुझाइसकेको छ ।

जसमध्ये ५२ जनालाई सरकारले शहीद घोषणा गरेको छ भने १६ जनालाई शहीद घोषणा गर्न अझै बाकी छ । साताअघि मधेशका अधिकांश जिल्लाहरुमा झन्डै ६ महिना लामो मधेश आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न शहीद सप्ताह मनाइएको थियो ।

सोमबार संघीय गठबन्धनले असोज ३ गते संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाएको थियो । नयाँ संविधान प्रतिगामी र त्रुटिपूर्ण रहेको भन्दै गठबन्धनले राजधानी काठमाडौं सहित देशभर संविधान विरुद्ध कालो झन्डा सहित विरोध प्रदर्शन गरेको थियो ।

गतवर्ष पनि असोजको पहिलो साता संविधान विरुद्ध कालो दिवस र मधेश आन्दोलनका शहीदहरुको सम्झनामा देशव्यापी रुपमा श्रद्धाञ्जली सभा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.