
हुलाकी न्यूज, सोलु ४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन हुने आश अझै बाँकी नै रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब सोलुखुम्बुले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्तमान समस्या समाधानका लागि संविधान संशोधनमा विलम्ब गर्न नहुने सुझाव दिएका छन् ।
उनले सरकार र मोर्चाबीच भएको तीनबुँदे सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको बताएपनि संशोधन हुने आश अझै बाकी रहेको बताए ।
नेकपा एमालेले मुलुकलाई कारणले मुलुक द्वन्द्वतर्फ धकेल्न खोजेको बताएका छन् । संविधान संशोधनका लागि एमाले सहमत नभएको भन्दै उनले एमालेका केही नेताहरूमा अतिवादी सोच रहेको टिप्पणी गरे ।
‘एमालेको अतिवादी सोचले देश द्वन्द्वमा जाने सम्भावना बढी छ । यसलाई रोक्नु पर्छ’– उनले भने । संघीयताभित्र पहिचान, प्रादेशिक स्वायत्तता र सुशासन, राज्यपुनर्संरचना, स्रोत साधन तथा शक्तिको बाँडफाँड संविधान संशोधनको मुख्य एजेण्डा हुनुपर्नेमा यादवको जोड छ ।
सरकारले संविधान संशोधन प्रक्रिया थाल्न ढिलाई गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष यादवले मुलुकलाई अनिश्तिकालीन द्वन्द्वमा जानबाट रोक्न संघीय गठबन्धनको माग अनुसार संविधान संशोधनको विकल्प नभएको बताए ।

शेर्पा प्रदेशको प्रशिक्षणका लागि जिल्ला आएका यादवले संविधानलाई प्वालैप्वाल भएको चादरको संज्ञा दिँदै दलहरु प्वाल टाल्न सहमत नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए । यसका साथै संघीय समाजवादी फोरम नेपाल, शेर्पा प्रदेश समितिको आयोजनामा मंगलबार दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



