
हुलाकी न्यूज, बीरगञ्ज ३ असोज । गत वर्ष संविधान जारी भएको दिन अर्थात असोज तीन गते मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका मुनसी पटेल आज घर फर्केका छन् ।
आन्दोलनको क्रममा पर्सा बगहीका पटेलको ढाँढको हड्डीमा गोली लागेको थियो । गोली लागेका पटेलको काठमाडौं र दिल्लीमा समेत उपचार भएको थियो । तर पनि निको नभएका पटेलेको सोमबारसम्म बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै आएको थियो ।
संविधान जारी भएको वार्षिकोत्सवको अवसरमा गैरमधेशीहरुले संविधान दिवस मनाउँदै थिए भने मधेशीहरुले कालो दिवस मनाइरहँदा पटेल आज नारायणी उपक्षेत्रीय अस्पतालबाट डिसचार्ज भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका पर्सा संयोजक प्रदिप यादवका अनुसार मंगलबार घाइते पटेल घर फर्के पछि परिवारका सदस्यहरुले निकै खुशी व्यक्त गरेका छन् । डिस्चार्ज हुने क्रममा पटेलले भने,‘आज एक वर्ष भयो अस्पतालमा डक्टर, नर्स बाहेक गाऊँको माहोल हेर्न पाएका थिइन । घर जादा खुशी लागेको छ तर मधेशले अधिकार नपाउँदा दुखी पनि छु ।’
गत वर्ष संविधान जारी भएकै संविधानको विरोधमा प्रदर्शन गर्ने क्रममा बीरगञ्जमा प्रहरीको गोलीबाट सत्रुघन पटेलको हत्या भएको थियो भने ५ जनालाई गोली लागेको थियो । ढाँढमा गोली लागेका पटेल अहिले पनि निको हुन सकेका छैनन्, त्यसैले उनलाई जिउँदो सहिद भन्दा न्याय हुन्छ ।



